ट्रम्पको टिप्पणीपछि अमेरिका-इटाली सम्बन्धमा नयाँ तनाव, विदेशमन्त्रीले रद्द गरे अमेरिका भ्रमण

२०८३ असार ०६ गते

ट्रम्पको टिप्पणीपछि अमेरिका-इटाली सम्बन्धमा नयाँ तनाव, विदेशमन्त्रीले रद्द गरे अमेरिका भ्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीबारे दिएको टिप्पणीले अमेरिका र इटालीबीच नयाँ कूटनीतिक विवाद उत्पन्न भएको छ।

इटालीका विदेशमन्त्री एन्टोनियो तायानीले शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग हुने तय भएको भेटवार्ताका लागि अमेरिका जाने आफ्नो भ्रमण रद्द गरेको घोषणा गरेका छन् । उनले ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक भन्दै प्रधानमन्त्री मेलोनीले ती भनाइलाई “पूर्ण रूपमा मनगढन्ते” भएको बताएका छन्।

Advertisement:

Ad
Ad

हालै फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि अमेरिका र युरोपेली सहयोगी राष्ट्रहरूबीच सम्बन्ध सुधार हुने संकेत देखिएको अवस्थामा यो घटनाले दुई पक्षबीचको दूरी अझ बढाएको विश्लेषण गरिएको छ।

इटालीको ला–७ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले जी–७ सम्मेलनका क्रममा मेलोनीले आफूलाई फोटो खिच्न आग्रह गर्दै “याचना” गरेको दाबी गरेका थिए। उनले आफूले दया लागेकाले मात्र तस्वीर खिच्न दिएको बताएका थिए।

“उनले मसँग फोटो खिच्न निकै आग्रह गरिन्। उनी मसँग तस्वीर खिच्न यति धेरै इच्छुक थिइन् कि मैले नखिच्ने सोच बनाएको थिएँ, तर मलाई उनमाथि दया लाग्यो,” ट्रम्पको भनाइ उद्धृत गर्दै इटालियन सञ्चारमाध्यमले जनाएको छ।

यसप्रति प्रधानमन्त्री मेलोनीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा कडा प्रतिक्रिया दिँदै ट्रम्पका अभिव्यक्तिहरू “पूर्ण रूपमा बनावटी” भएको बताइन्।

“डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा झुटा हुन्। म साँच्चै स्तब्ध छु। संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आफ्नै सहयोगीहरूप्रति किन यस्तो व्यवहार गर्छन् भन्ने कुरा म बुझ्न सक्दिनँ, र यो पहिलो पटक पनि होइन,” उनले भनिन्।

मेलोनीले पश्चिमी मुलुकका शत्रुहरूप्रति ट्रम्पले देखाउने नरम व्यवहारप्रति पनि असन्तुष्टि व्यक्त गर्दै भनिन्, “पश्चिम र अमेरिकाका विरोधी शक्तिहरूप्रति उनी यति नै कडा र दृढ भएको भए राम्रो हुन्थ्यो। तर त्यस्ता नेतृत्वप्रति भने उनी धेरै नै नरम देखिन्छन्।”

यस घटनाले ट्रम्प र मेलोनीबीच एक समय रहेको निकट सम्बन्धमा थप चिसोपन ल्याएको तथा अमेरिका र उसका युरोपेली सहयोगीबीचको मतभेदलाई पुनः सतहमा ल्याएको विश्लेषण गरिएको छ।