नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे ३ अर्बमा सीमित

२०८३ साउन २७ गते

नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे ३ अर्बमा सीमित

काठमाडौँ । कारोबार अवधिभरजसो दबाबमा रहेको शेयर बजार बुधबार अन्तिम समयमा सम्हालिएको छ। दिनभर उतारचढाव देखिएको नेप्से कारोबारको अन्तिमतिर सामान्य अंकले बढेपछि हरियो भएर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ। बजार सामान्य बढे पनि अधिकांश कम्पनीको शेयरमूल्य भने घटेको छ। यस दिन १६५ कम्पनीको शेयरमूल्य घट्दा १०२ कम्पनीको बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

Advertisement:

Ad
Ad

 

सूचकमा सामान्य सुधार आए पनि बजारमा कारोबारको गति भने खुम्चिएको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३४८ स्टकको ४३ हजार ९९० पटकको कारोबारमा ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच भएका छन्।

 

बुधबार बजारमा नयाँ सूचीकृत कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट आकर्षणको केन्द्रमा रह्यो। नियमित कारोबारको पहिलो दिनमै कम्पनीको शेयरमूल्य ४५ रुपैयाँले बढेर ३४५ रुपैयाँ पुगेको छ। कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो। मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको बुधबारदेखि नियमित कारोबार सुरु भएको थियो।

त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ५.५ प्रतिशतभन्दा बढीले बढेको छ। यता, कारोबारमा आएको १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३को मूल्य भने १५ प्रतिशतले घटेको छ।

कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अगाडि रह्यो। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब २२ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

 

उपसमूहतर्फ पनि बजारमा मिश्रित अवस्था देखिएको छ। १३ मध्ये ५ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्। लगानी उपसमूह २.२१ प्रतिशतले बढेर सबैभन्दा अगाडि रहँदा बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।

समग्रमा, दिनभरको दबाबका बाबजुद अन्तिम समयमा नेप्से हरियो भएर बन्द भए पनि घट्ने कम्पनीको संख्या बढी रहनु र कारोबार रकम घट्नुले बजारमा अझै स्पष्ट मजबुती नआइसकेको संकेत गरेको छ।