२०८३ साउन २९ गते
काठमाडौं । गृहमन्त्री सुदन गुरुङको निर्देशनमा कारागारका चौकीदार, नाइके र सहनाइकेको नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। नियुक्तिलाई पारदर्शी, निष्पक्ष र आर्थिक चलखेलमुक्त बनाउन नयाँ मापदण्ड तयार पारिने गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।
उनका अनुसार अब इच्छुक कैदीबन्दीबाट आवेदन, बायोडाटा ९सीभी० लगायतका विवरण मागिनेछ र योग्य उम्मेदवारमध्ये छनोट गरेर नियुक्ति गरिने व्यवस्था लागू हुनेछ। सांसदहरूले पनि हालको नियुक्ति प्रक्रिया अपारदर्शी र सेटिङमा आधारित रहेको भन्दै सुधारको माग गरेका थिए।
हाल देशभरका कारागारको क्षमता करिब १९ हजार भए पनि करिब २८ हजार कैदीबन्दी रहेका छन्। कारागार व्यवस्थापनलाई व्यवस्थित बनाउन पूर्वाधार विस्तार, डीपीआर तयारी र नयाँ मापदण्ड निर्माणको कामसमेत अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार ३२ असार २०८३ मा कारागार नियमावली २०८३ जारी भएको हो । यसअनुसार २५ जनामा एक जना नाइके र १० जनामा एक जना सहनाइके हुन्छन् ।नियमावलीको नियम २७ मा चौकीदार र नाइकेको योग्यता र जिम्मेवारी तोकिएको छ । जसअनुसार आन्तरिक व्यवस्थापनको प्रत्येक ब्लकमा एक जना चौकीदार रहने छन् ।
साथै, २५ जना बराबर एक जना छुट्टै मनोसामाजिक परामर्श नाइके रहन्छन् । कारखाना वा उद्यम केन्द्र सञ्चालन भएको कारागारमा उक्त कारखाना वा उद्यम केन्द्र व्यवस्थापनमा सहयोग पुर्याउन छुट्टै एक जना नाइके रहन्छन् ।नियमावलीको नियम २७ को उपनियम २ अनुसार चौकीदार, नाइके र सहनाइके तोक्ने कार्य आर्थिक वर्षको पहिलो महिनाभित्र गरिसक्नु पर्ने हुन्छ ।
नाइके वा सहनाइके तोक्ने प्रयोजनको लागि बन्दीको संख्या निर्धारण गर्दा अघिल्लो असार मसान्तसम्मका बन्दीको संख्यालाई आधार मानिन्छ ।चौकीदार तोक्न भने कारागार रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको साहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहन्छ । जसमा जिल्ला प्रहरी कार्यालयको अधिकृत प्रतिनिधि सदस्य हुन्न्छन् भने सदस्यसचिवको जिम्मेवारीमा कारागार प्रशासक रहन्छन् ।
प्रतिक्रिया