२०८३ असार ०२ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार ओरालो लागेको छ । लगातार चौथो कारोबार दिन नेप्से परिसूचक घट्दै बजार बन्द भएको हो । यस दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा कायम भएको छ ।
कारोबार रकममा पनि केही कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजारभन्दा बढी कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । यस्तै, दोल्ती पावर कम्पनीको शेयर मूल्य ६.५ प्रतिशतभन्दा बढी र बुंगल हाइड्रोको करिब ५.५ प्रतिशतले बढेको छ । बजार घटे पनि अधिकांश गुमाउने कम्पनीहरूको मूल्य गिरावट ५ प्रतिशतभन्दा कममा सीमित रहेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि सिद्धार्थ बैंकको १८ करोड रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया