दूरसञ्चार प्राधिकरणको चेतावनी : १५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही हुने

२०८२ जेठ ०८ गते

दूरसञ्चार प्राधिकरणको चेतावनी : १५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही हुने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई बक्यौता दाखिला गर्न सूचना जारी गरेको छ । रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिला नगरे कारबाही गरिने प्राधिकरणको सूचनामा उल्लेख छ  । 


नियामक प्राधिकरणले सार्वजनिक गरेको सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका सेवा प्रदायकहरूलाई तिर्न बाँकी रकम बुझाउन भनेको हो । सेवा प्रदायकहरूले विगत केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको सूचनामा उल्लेख छ ।

Advertisement:

Ad
Ad


प्राधिकरणका अनुसार पटक(पटक पत्राचार, इमेल तथा सूचना प्रकाशनमार्फत जानकारी दिँदा पनि ती सेवा प्रदायकहरुले विवरण र बाँकी बक्यौता रकम दाखिला गरेका छैनन् ।प्राधिकरणको सूचनामा भनिएको छ , ‘यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र नियमानुसारको विवरण, कागजातसहित बांँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गटाउनका लागि यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’।

 

तोकिएको अवधिभित्र आवश्यक कागजात र रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।