२०८१ फागुन १६ गते
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो । साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ ।
भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । अहिलेसम्म कुनै पनि भौतिक र मानवीय क्षति को विवरण प्राप्त भएको छैन ।सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए । उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिए ।
साथै, उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ । उनले भने,‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन् । दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो । त्यस्तो अरु केही छैन् विवरण ।’ त्यस्तै जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताए ।
प्रतिक्रिया