सेयर लगानीकर्तालाई घाटा नहुने संयन्त्र 'सर्टसेलिङ' लागु हुँदै, कसरी लिने फाइदा ?

२०८३ असार ३१ गते

सेयर लगानीकर्तालाई घाटा नहुने संयन्त्र 'सर्टसेलिङ' लागु हुँदै, कसरी लिने फाइदा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा नयाँ  उपकरण ल्याउने तयारी थालेपछि अहिले सर्ट सेलिङ’को चर्चा चुलिएको  छ । 


लगातार बजार ओरालो लाग्दा लगानीकर्ताले घाटा मात्र बेहोर्नुपर्ने अहिलेको अवस्थालाई परिवर्तन गर्दै, बजार घट्दा पनि प्रतिफल कमाउन सकिने व्यवस्था गर्ने उद्देश्यका साथ सेबोनले सर्ट सेलिङको अवधारणा अघि बढाएको हो।

Advertisement:

Ad
Ad

 

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा बुधबार भएको छलफलमा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले बजार जुनसुकै दिशामा गए पनि लगानीकर्ताले अवसर पाउने संयन्त्र विकास भइरहेको बताएका छन्। 

 

पुँजीबजार लगातार घटिरहदा लगानीकर्ताहरुमा संयमता गुमेको छ । यसकै उदाहरण मंगलबार नेपाल धितोपत्रबोर्डको कार्यालय घेराउ पनि हो । मंगलबार लगानीकर्ताहरु बजार बढाउने नीति ल्याउन दबाव दिन बोर्ड घेर्न पुगेका थिए । लगतै बुधबार अर्थसमितिले बोर्डका अध्यक्ष डा. गोपाल भट्टलाई बोलाएर पुँजी बजारको समस्या र समाधानको विषयमा जानकारी लिएको छ । भट्टले सेयर बजारमा लगानीकर्ताले घाटा नखाने गरि बोर्डले संयन्त्र बनाइरहेको जानकारी दिए । उनले भन्ने खोजेको विषय थियो ‘सर्टसेलिङ मोकानिजम’ ।

 

सर्टसेलिङ मेकानिजमले  बजार तल गयो भनेपनि घाटा दिँदैन  । बजार तल झर्दापनि प्रतिफल पाइने गरी ल्याउन लागिएको यस्तो संयन्त्रले कसरी काम गर्छ  र सबै खालका कम्पनीका सेयर भएका लगानीकर्ताहरुले यसको फाइदा लिन सक्छन त भन्ने चासो देखिएको छ । 

 

के हो त सर्ट सेलिङ ?

हाल नेपालमा लङ पोजिसन मात्र लागू छ। यसको अर्थ, लगानीकर्ताले पहिले सेयर किन्छन् र पछि मूल्य बढेपछि बेचेर नाफा कमाउँछन्।

 

उदाहरणका लागि  एउटा कम्पनीको सेयर एक हजार रुपैयाँमा किनियो। केही समयपछि उक्त सेयरको  मूल्य १ हजार २ सय रुपैयाँ पुग्यो। त्यसबेला बेच्दा प्रति कित्ता २०० रुपैयाँ नाफा हुन्छ। तर यदि मूल्य ८०० रुपैयाँमा झर्यो भने प्रति कित्ता २०० रुपैयाँ घाटा हुन्छ। अहिलेको नेपाली पुँजी बजारमा नाफा कमाउने एउटै बाटो भनेको सेयरको मूल्य बढ्दा मात्र हो ।

 

पुँजीबजारमा दुईवटा पोजिसन हुन्छ । एउटा लङ पोजिसन हो भने अर्को सर्ट पोजिसन हो । अहिलेको विद्यमान व्यवस्था लङ पोजिसन हो । 

 

सर्ट सेलिङमा भने प्रक्रिया उल्टो हुन्छ। यसमा लगानीकर्ताले आफ्नो नभएको सेयर निश्चित अवधिका लागि सापटी लिन्छन्। त्यसपछि बजारमा बेचिदिन्छन्। यदि पछि सेयरको मूल्य घट्यो भने त्यही सेयर कम मूल्यमा किनेर सापटी फिर्ता गर्छन्।

 

सेबोनका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार मानौ एक लगानीकर्ताले कुनै एक कम्पनीको सेयर  एक हजार प्रतिकित्ताका दरले १० लाख रुपैयाँको सेयर किन्यो र उसले उक्त सेयरको मूल्य झन घट्न सक्छ भनेर अनुमान गरेर एकहजार प्रतिकित्तामै बेचिदियो  र दुईतिन महिनापछि उक्त सेयरको मूल्य ८ सय पुगेको बेला फेरी किनेर सेयर सापटी फिर्ता गरिदियो भने त्यसबाट लगानीकर्तालाई घाटा हुदैन यसलाई सर्टपोजिसन अर्थात सर्टसेलिङ भनिन्छ ।  अथवा बजार घट्दैछ भन्ने अनुमानमा पनि फाइदा लिनु सर्टसेलिङ हो । 


उच्च मूल्य भएको सेयर सापटी लिएर बेचिदिन्छु अनि केही समयपछि मूल्य घट्ला र  बजारबाट किनेर सेयर फिर्ता गरिदिन्छु भन्यो भने त्यो सर्ट सेलिङ हो । सर्टसेलिङमा  सेयरको बदला सेयर नै फिर्ता हुन्छ, भ्यालुमात्र तलमाथि हुने हो । बजार घट्ने अनुमान सही भयो भने पनि लगानीकर्ताले प्रतिफल कमाउन सक्छन्। यदि अनुमान गलत भयो भने सर्ट सेलिङमा जोखिम पनि उत्तिकै हुन्छ।


उदाहरणका लागि कुनै सेयर १,००० रुपैयाँमा बेचियो। तर मूल्य घट्नुको सट्टा १,३०० रुपैयाँ पुग्यो। अब सापटी फिर्ता गर्न १,३०० रुपैयाँमै किन्नुपर्छ। यस अवस्थामा प्रति कित्ता ३०० रुपैयाँ घाटा हुन्छ। यसैले सर्ट सेलिङ उच्च जोखिम भएको कारोबार मानिन्छ र विश्वभर यसमा कडा नियम लागू गरिन्छ।


सबै कम्पनीको सेयरमा सर्टसेलिङ मेकानिजम लागु हुन्छ ? 

सेबोनका अनुसार प्रारम्भिक चरणमा सबै २८९ कम्पनीको सेयरमा सर्ट सेलिङ सुविधा नहुन सक्छ। कुन कम्पनीको सेयरमा सापटी लिन पाइन्छ, सापटी दिने निकाय के हो भन्ने विषय प्राविधिक हो ।   मानौै नेप्से ३० आयो भने उक्त ३० मा धेरै पुँजी भएका, कम्पनीको सेयर मूल्य धेरै तल माथि नहुने,  वित्तिय विवरण राम्रो भएका संस्थाहरु पर्न सक्छन् । यदि यसोे भयो भने नेप्से ३०  मा परेको बाहेकका  संस्थहरुको सबैको लागि  सर्ट सेलिङको सुविधा नहुन पनि सक्छ ।

 

किन्न खोज्दा सजिलै पाइने, ठुलो बल्कमा बेच्न मिल्ने हुनुपर्छ । कुनै कुनै सेयर त कारोबार नै नभएका पनि छन भने  बजारमा २/३ हजार कित्तामात्र कारोबार हुने कम्पनी पनि छन् । यस्तो अवस्थामा सबै कम्पनीको सेयरमा सर्टसेलिङ सुविधा नपाइन सक्छ । बोर्डले पनि यसका लागि मापदण्ड बनाउने बताएको छ । 

 

सेयर कसले सापटी दिने, सापटी दिने संस्था वा डिलर को हुने, सापटीको ब्याजदर कति हुने, कति अवधिसम्म सापटी लिन पाइने, जोखिम व्यवस्थापन कसरी गर्ने, लगानीकर्ताले कति रकम धितो राख्नुपर्ने जस्ता  मापदण्ड तयार भएपछि मात्रै नेपालमा सर्ट सेलिङ औपचारिक रूपमा लागू हुने सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले बताए ।