पुँजीबजार विकास मार्गचित्रले आश्वस्त भए लगानीकर्ता, बढेर बन्द भयो शेयरबजार

२०८३ असार ३१ गते

पुँजीबजार विकास मार्गचित्रले आश्वस्त भए लगानीकर्ता, बढेर बन्द भयो शेयरबजार

काठमाडौँ । मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने उद्देश्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको थियो । १२४ पृष्ठको उक्त मार्गचित्रले आगामी १० वर्षका लागि पुँजी बजार सुधारका कार्यक्रम अघि सारेको छ । निरन्तर घटिरहेको बजारका लगानीकर्ता बोर्डले ल्याएको मार्गचित्रप्रति आश्वस्त बनेका कारण आजको बजार बढेको अनुमान गरिएको छ  ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले सुधार हुँदै हरियालीमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक १४.०० अंक (०.५४ प्रतिशत) ले बढेर २,५९०.२९ विन्दुमा पुगेको हो।

Advertisement:

Ad
Ad

 

यस दिन ३६२ कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर ३८ हजार ८३६ पटक किनबेच हुँदा कुल ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

 

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा १९५ कम्पनीको मूल्य बढेको, ६० कम्पनीको घटेको र १९ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा खरिदकर्ताको प्रभाव बलियो बन्दै गएको संकेत गरेको छ।

 

कारोबार रकमका आधारमा HBLD83 अग्रस्थानमा रह्यो। त्यसपछि RBBD2088, NICD83/84, SBL र AKJCL सर्वाधिक कारोबार हुने धितोपत्र बने। त्यस्तै, मूल्य वृद्धिका आधारमा NMBD89/90 शीर्ष स्थानमा रहँदा NABBC, TSHL, SAGAR र MFLD85 का लगानीकर्ताले पनि उल्लेख्य प्रतिफल कमाए।

 

चार अर्ब रुपैयाँभन्दा बढीको कारोबारसँगै अधिकांश कम्पनीको सेयर मूल्य बढ्नुले बजारमा लगानीकर्ताको विश्वास थप बलियो बन्दै गएको देखिएको छ। हालैका दिनमा बजारले निरन्तर स्थायित्व खोजिरहेका बेला बुधबारको कारोबारले नेप्सेमा सकारात्मक माहोल कायम रहेको संकेत गरेको छ।