संरचनागत र कानुनी ढिलाइले बजेट कार्यान्वयन प्रभावित भयो : मन्त्री काफ्ले

२०८२ असार ०२ गते

संरचनागत र कानुनी ढिलाइले बजेट कार्यान्वयन प्रभावित भयो : मन्त्री काफ्ले

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् । 


आइतबार साँझ प्रदेश सरकारले बजेट प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् । मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समाधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’

Advertisement:

Ad
Ad


हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा विभिन्न तहबाट प्रश्न उठिरहेका बेला मन्त्री काफ्लेको यो अभिव्यक्ति आएको हो । उनले समयमै काम सुरु गर्न ढिलाइ भए पनि प्रदेश सरकारले बजेटका सबै कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन् । प्रदेशसभा र सरोकारवाला निकायबाट बजेट कार्यान्वयनको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न दबाब बढिरहेका बेला मन्त्री काफ्लेले कार्यान्वयन पक्षलाई अझ प्रभावकारी बनाउने पहल भइरहेको जानकारी दिए । 


प्रदेश सरकारका योजनाहरू समयमै लागू गर्न, सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि तथा कानुनी प्रक्रियाहरूलाई सहज बनाउनेतर्फ मन्त्रालयले प्राथमिकता दिइरहेको उनको भनाइ छ ।