दाउने सडकमा वर्षौंदेखिको जाम समस्या यथावत्, यात्रु दैनिक सास्तीमा

२०८२ कात्तिक १३ गते

दाउने सडकमा वर्षौंदेखिको जाम समस्या यथावत्, यात्रु दैनिक सास्तीमा

काठमाडौं । दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।

धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ ।

Advertisement:

Ad
Ad

सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ ।

बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक छिट्टै बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो ।’

दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको कारण सवारी जाम बढ्ने गरेको स्थानीयहरूको भनाइ छ । विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापले पनि आवागमन अवरुद्ध हुने गरेको छ ।

स्थानीयले पटक पटक सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायले तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि कदम चाल्न माग गरेका छन् ।