रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने, 'रोड टु आईपीओ' योजना सम्बन्धी सम्झौता सम्पन्न

२०८१ भदौ ०५ गते

रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने, 'रोड टु आईपीओ' योजना सम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं । रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजी वृद्धि गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन प्रक्रिया पुरा गर्नका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत रोड टु आईपीओ योजनासम्बन्धी सम्झौता गरेको छ ।

मंगलवार भएको उक्त सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मीनराज भुसालले हस्ताक्षर गरेका हुन । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पूँजी वृद्धि र व्यावसायिक प्रबर्द्धनमा परामर्श सेवा दिंदै आइरहेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीले १० करोड रुपैयाँ चुक्तापूँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएको छ । सम्झौता अनुसार एलिटले रेन्बोलाई चुक्तापूँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ । यीबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ। हाल १० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिने भएको छ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्टसमेत जडान गरिरहेको छ ।

पूँजी वृद्धिपछि कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भुसालले जानकारी दिए । रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानाबाठ कम्पनीले दुई दर्जनभन्दा बढी विभिन्न ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ। कम्पनीले उच्चस्तरीय ब्रान्डको २५ यूपीको ह्विस्की उत्पादन गरेर विदेश निर्यात गर्ने योजना पनि बनाएको छ । हालसम्म धितोपत्र बजारमा मदिराजन्य उद्योग एउटामात्र सूचीकृत छ ।

त्यसैले मुनाफाजन्य उद्योगका रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पब्लिक कम्पनी बनाएर आईपीओ जारी गर्न लागिएको कम्पनीका सञ्चालक प्रकाश भुसालले जानकारी दिएका छन् ।