रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा, सडक मार्गबाट पोखरातर्फ लगिँदै

२०८१ कात्तिक ०२ गते

रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा, सडक मार्गबाट  पोखरातर्फ लगिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगेको हो । उनीसँगै केही नेतासमेत अर्को गाडीमा पोखरा गएका छन् । पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Advertisement:

Ad
Ad

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनी विरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताए । उनले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गरे ।