बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो, साँझसम्म सतर्क रहन आग्रह

२०८३ असोज २५ गते

बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो, साँझसम्म सतर्क रहन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ । मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले बिहानदेखि तीन चरणमा बाढी आएको छ भने दोस्रो बाढीले आरूघाटमा खतराको तह पार गरेको जानकारी दिए । 

 

Advertisement:

Ad

पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको जानकारी प्राप्त भएको थियो । बाढीले माथिल्लो क्षेत्रमा क्षति पु¥याइसकेको छ भने तल्लो क्षेत्रमा पनि जोखिम कायम रहेको छ ।बाढीको सूचना प्राप्त हुनासाथ तल्लो तटीय क्षेत्रमा पूर्वसूचना सम्प्रेषण गरिएको र एसएमएसमार्फत समेत सर्वसाधारणलाई सचेत गराइएको उनले बताए ।

 

वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीका अनुसार आरूघाटमा पहिलो बाढी बिहान करिब ६ः३० बजे पुगेको थियो । उक्त बाढी तुलनात्मक रूपमा सानो थियो । दोस्रो बाढी बिहान ७ः५० बजे पुगेको थियो, जसले आरूघाटमा खतराको तह पार गरेको थियो । त्यसपछि पानीको सतह घटेको र तेस्रो बाढी पुनः आरूघाटतर्फ आइरहेको उनले जानकारी दिए ।

 

हालसम्मको अवस्था हेर्दा आरूघाट वा त्यसभन्दा तल्लो क्षेत्रमा ठूलो असर पर्ने सम्भावना तत्काल कम देखिएको उनले बताए। तर माथिल्लो क्षेत्रमा बाढीले ठूलो क्षति पु¥याइसकेको उनले बताए । बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको वास्तविक कारण अझै खुल्न सकेको छैन । बाढी मानव बस्तीभन्दा टाढा हिमाली क्षेत्रबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको पराजुलीले बताए ।

 

नदी पहिरोका कारण थुनिएर खुलेको हो वा हिमाली क्षेत्रबाट अन्य कारणले बाढी सिर्जना भएको हो भन्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए । बाढीको वास्तविक कारणबारे केही घण्टाभित्र वा आइतबार साँझसम्म थप स्पष्टता आउन सक्ने उनले बताए । 

 

बाढी विभिन्न चरणमा आउने र नदीको बहाव बढ्ने–घट्ने क्रम जारी रहेकाले अर्को स्पष्ट सूचना जारी नभएसम्म आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।पराजुलीले बूढीगण्डकी नदी र त्रिशूली नदीको दोभानसम्मका तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदी किनारका घर छाडेर सुरक्षित उच्च स्थानमा जान अनुरोध गरेका छन् ।

 

विशेषगरी आरूघाट, तातोपानी, माछीखोला, आर्खेतलगायत बूढीगण्डकी नदी किनारका होचा बस्ती तथा बजारमा बसोबास गर्ने नागरिकलाई जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ ।