२०८० चैत ०४ गते
काठमाडौं। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित कार्यक्रमबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन्। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने पोखरालाई हालसम्म अघोषित रुपमा पर्यटकीय राजधानीको रुपमा लिँदै आइएको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको थियो। पर्यटकीय नगरीको रुपमा औपचारिक घोषणा भएसँगै पोखरामा अब रात्रिकालिन होटल व्यवसाय, दोहोरी,डान्सबारहरु खुला रहने भएका छन् । प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जवाफदेही तथा क्षमता विकासलाई योजनावद्ध रुपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भइ प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रुपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्चप्राथमिकतामा राख्ने बताए ।
प्रतिक्रिया