फेरी हुने भयो लोडसेडिङ : प्राधिकरणले भन्यो, साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत कटौती हुनसक्छ

२०८१ पुस ०२ गते

फेरी हुने भयो लोडसेडिङ : प्राधिकरणले भन्यो, साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत कटौती हुनसक्छ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले औषचारिक रुपमै लोडसेडिङ हुन सक्ने घोषणा गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको प्राधिकरणले भनेको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नु पर्ने देखिएको हो ।

चिसोका कारण यही समयमा विद्युतको माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरुको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नु पर्दछ । यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिक बाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

Advertisement:

Ad
Ad

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए । घिसिङले भने,‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीब्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।’ गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर(नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिंदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ ।