पाथीभरामा एकैदिन पन्ध्र सय बढी भक्तजन

२०८१ असोज २९ गते

पाथीभरामा एकैदिन पन्ध्र सय बढी भक्तजन

ताप्लेजुङ । मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने क्रमसँगै मङ्गलबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एकहजार ४९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या असोज महिनाकै सबैभन्दा भक्तजनको सङ्ख्या भएको पनि समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिए । उनका अनुसार सोमबार ४२७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

Advertisement:

Ad
Ad

यसपटक पाथीभरा दर्शन गर्ने मुख्य समय अर्थात दसैँको नवरात्रिको अवधिमा भक्तजनले पाथीभरा दर्शन गर्न पाएका थिएनन् । अविरल वर्षापछिसँगै बाढीपहिरोले असोज १२ गतेदेखि मेची राजमार्ग अवरुद्ध बनाएपछि तीर्थयात्रीको आउजाउ ठप्प बनेको थियो । पाँचथरको हेँवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्ग करिव डेढ सातापछि खुलेसँगै तीर्थयात्रीको आउजाउ सुरु भएको हो ।

राजमार्ग सञ्चालनमा आएपछि तीर्थयात्रीको आगमन वृद्धि हुँदै गएको र निरन्तर बढ्दो क्रममा रहेको पनि पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उहाँकाअनुसार हाल बाहिरका जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरामा तीर्थयात्री आउने क्रम रहेको छ ।