२०८२ साउन १० गते
काठमाडौ । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएको स्थानहरुको पहिचान गरी उक्त स्थानमा बोरिङ गर्ने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई (सिडिओ) निर्देशन दिएका छन्।
शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै पानीको हाहाकार भएको ठाउँ पहिचान गर्न निर्देशन दिएका हुन् । मन्त्री लेखकले मुलुकका विभिन्न भूभाग, विशेष गरी मधेस र तराई क्षेत्रमा खानेपानी र सिँचाइका लागि पानीको हाहाकार रहेको जानकारी दिए ।उनले भने, ‘अहिले मुलुकको मधेस, तराई क्षेत्रमा पानीको अत्यन्त ठूलो अभाव सिर्जना भएको छ । विभिन्न ठाउँमा खानेपानीकै समस्या छ, अभाव छ । अहिले मध्य बर्खाको धान रोपाईं गर्ने बेलामा विभिन्न जिल्लाहरुमा रोपाईं हुन सकेको छैन ।’
शुक्रबार प्रधानमन्त्री केपी ओलीले खानेपानीको हाहाकार भएको ठाउँमा बोरिङ गर्ने भनेर घोषणा गरेका थिए । सोही अनुरुप गृहमन्त्री लेखकले शनिवारको बैठकमा कुन कुन ठाउँमा बोरिङ गर्ने भन्ने पहिचान गर्न निर्देशन दिएका हुन्।
तराई–मधेसको संकटलाई सम्बोधन गर्न सरकारले साउन ८ गते सम्बन्धित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको जानकारी पनि उनले दिए । ‘आजको छलफलको उद्देश्य भनेकै त्यहाँका जिल्लाहरूको वास्तविक स्थितिबारे जानकारी लिनु, अहिले भैरहेका प्रयासहरूबारे समिक्षा गर्नु र थप के गर्न सकिन्छ भन्नेबारे निर्णय गर्नु हो,’गृहमन्त्री लेखकले भने ।
प्रतिक्रिया