२०८१ असार २८ गते
पोखरा । अविरल बर्षाका कारण गएराति पोखराका तीन ठाउँमा पहिरोले घर परिदा ११ जनाको मृत्यु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाइँ सहित ६ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु भएको हो ।
पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका कुल बहादुर परियार उनका छोरी ज्वाइँ चितवन निवासी २५ वर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताए । उनको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ वर्षका तुल बहादुरसहित उनकी श्रीमती ४३ बर्षकी मनकुमारी परियार, उनकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी २० बर्षकी प्रभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी ५६ बर्षकी राधिका परियारकोसमेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाए । उनले उक्त घटना पश्चात् उद्धारमा खटिदा लडेर एक जना महिलाको मृत्यु भएको जानकारी दिए ।
घटना बिहीबार राति करिब १०ः बजेको समयमा भएको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । एक दिन अघि घर भन्दा माथिल्लो भिरालो भागमा सामान्य पहिरो गए पनि त्यसलाई ख्याल नगर्दा ठुलो दुर्घटनामा परी एकै परिवारका ६ सहित ७ जनाको ज्यान गएको स्थानीयले बताए ।
उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानीय राधिकाका छोरा कुमार परियार घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो ।
पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १८ बर्षकी अनिता ओझा, ११ बर्षकी अनुस्का ओझा र ९ वर्षका प्रतीक सुवेदीको पहिरोमा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय आरती ओझाको टिनले छाएको एक तले ढुङ्गा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उनकी छोरीहरू र दाइको छोरा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता उनको बिहान ७ः०० बजे मात्र शव भेटिएको हो । उनका ५५ वर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरूमा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिएका छन् ।
प्रतिक्रिया