ओलीलाई भेटेपछि मोदीको प्रतिक्रिया- "भारत-नेपाल मित्रता धेरै बलियो छ, हामी अझ गति दिन चाहन्छौं"

२०८१ असोज ०७ गते

ओलीलाई भेटेपछि मोदीको प्रतिक्रिया- "भारत-नेपाल मित्रता धेरै बलियो छ, हामी अझ गति दिन चाहन्छौं"

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका दुवै देशका प्रधानमन्त्रीबीच सोमबार बिहानै भेटवार्ता भएको हो ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भएको प्रतिक्रिया दिएका छन् । भारत-नेपाल मित्रता धेरै बलियो भएको र आफूहरूले सम्बन्धलाई अझ गति दिन चाहेको उनले उल्लेख गरेका छन् ।

Advertisement:

Ad
Ad

भेटमा ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा कुराकानी भएको मोदीले ट्वीटरमा लेखेका छन् ।

"प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं, भेटपछि ओलीसँगको फोटो राख्दै मोदीले ट्वीट गरेका छन्, हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।"

यसअघि ओलीले पनि मोदीसँगको भेट सकारात्मक रहेको बताएका थिए । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताएका थिए ।

यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ता सौहार्दपूर्ण भएको बताइन् । भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिएको उनको भनाइ थियो ।