२०८३ जेठ ०३ गते
काठमाडौं । नेपाली अर्थतन्त्र बाहिरबाट हेर्दा स्थिर देखिए पनि यसको भित्री संरचना आयातमा अति निर्भर छ, जसले विश्वका साना–ठूला झट्कालाई सिधै देशभित्रै महसुस गराउँछ ।
पेट्रोलियम पदार्थदेखि औषधी र दैनिक उपभोग्य वस्तुसम्म आयात हुने नेपालमा अन्तर्राष्ट्रिय बजारमा हुने हलचलले तुरुन्तै महँगी र आपूर्ति दबाब सिर्जना गर्छ ।पश्चिम एशियाको युद्ध र त्यसले तेल आपूर्तिमा पारेको असर यसको पछिल्लो उदाहरण हो । रणनीतिक भण्डारण (इमरजेन्सी स्टकपाइल) भएका विकसित देशहरूले आपतकालीन सञ्चिती बजारमा छोडेर मूल्य नियन्त्रण र आपूर्ति स्थिरता कायम गर्न प्रयास गरिरहँदा नेपाल भने करिब १२ दिनलाई मात्र पुग्ने पेट्रोलियम भण्डारण क्षमता सहित जोखिमको छेउमै उभिएको छ ।
६० प्रतिशतभन्दा बढी भारतीय आयातमा निर्भर र पेट्रोलियम आपूर्तिमा पूर्णतः भारत निर्भर नेपालका लागि यस्तो वैश्विक संकट दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने यथार्थ बनेको छ ।नेपालमा पेट्रोलियम पदार्थ, मेसिनरी, औषधी र दैनिक उपभोग्य वस्तुहरु विदेशबाटै आयात हुन्छ । पेट्रोलियम पदार्थको खानी इरानमाथि अमेरीकाले गरेको आक्रमणले विश्व बजारमा तेलको आपुर्ति सहज हुन सकेको छैन । यसले गर्दा इन्धनको मूल्य महंगीएको छ । इन्धन अभावको कारण देखाउँदै नेपालमा सरकारी कार्यालय सातामा दुई दिन विदा समेत दिन थालिएको छ ।
सञ्चितीको राम्रो रणनीति अपनाएका देशहरुमा तत्काल मूल्यबृद्धिको असर देखिंदैन । आपतकालिन अभाव टार्न सञ्चितीले सजिलो हुने गरेको इन्टरनेशनल इनर्जी एजेन्सीका सदस्य राष्ट्रहरुले चालेको पछिल्लो कदमले पुष्टि गरेको छ । हुर्मुज नाका बन्द भएको र इन्धन आपुर्ति सहज हुन नसक्दा ती राष्ट्रहरुले आफुहरुसँग भएको स्टक इन्धन बजारमा छोड्ने निर्णय गरेका थिए । उक्त निर्णयले इन्धनको मूल्य नियन्त्रण र आपुर्तिमा केही सहज थपेको थियो ।
पेट्रोलियम पदार्थको तत्कालिन अभाव वा आपूर्ति शृङ्खलामा आउने अवरोधलाई टार्न (इमरजेन्सी स्टकपइल) विश्वका प्रमुख देशहरूले रणनीतिक सञ्चितिको व्यवस्था गरेका छन् । मार्च २०२६ को तथ्याङ्क अनुसार इन्टरनेशनल इनर्जी एजेन्सी (आइइए) का सदस्य राष्ट्रहरूले १.२ अर्ब ब्यारेल भन्दा बढी आपतकालीन तेल भण्डारण गरेका छन् ।
तर नेपालमा १२ दिनलाई मात्र पुग्ने इन्धन सञ्चिती छ । नेपालमा पेट्रोलियम पदार्थ भारतबाटै आउँछ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुुमार ठाकुरले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढेर १२ दिनको बजार माग धान्ने भएको जानकारी दिए । नाकाबन्दी ताका इन्धन भण्डारण क्षमता एक सातालाई पुग्ने थियो ।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले आपुर्ति असहज भएको बेला सहज गर्न सकियोस भनेर भण्डारण क्षमता बढाउँने भएपनि नेपालमा अभाव भएको बेला मात्र भण्डारणको कुरा उठ्ने र पछि सेलाउँने गरेको बताउँछन् ।
कति छ नेपालको सञ्चिती ?
देशभर १६ स्थानमा आयल निगमको भण्डार गृह छ । ती भण्डारण गृहमा १ लाख २ हजार १ सय ८४ किलोलिटर इन्धन रहेको छ । सबैभन्दा धेरै भण्डारण अमलेखगंजमा छ । अमलेखगंजमा ४४ हजार ५ सय ३३ किलोलिटर इन्धन भण्डार रहेको छ । सबैभन्दा कम भण्डारण रामेछापको सदरमुकाम मन्थलीमा रहेको छ । मन्थलीमा ३४ किलोलिटर भण्डारण रहेको छ ।
प्रदेशगत मौज्दात भण्डारण क्षमता (किलो लिटरमा)
अन्य देशमा कस्तो छ सञ्चितीको रणनीति ?
संयुक्त राज्य अमेरिका : विश्वको सबैभन्दा ठूलो रणनीतिक पेट्रोलियम भण्डार (एसपिआर) अमेरिकामा छ । फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार यहाँ करिब ४१५.४ मिलियन ब्यारेल कच्चा तेल सरकारी सञ्चितीमा छ । यसका साथै निजी क्षेत्रसँग थप ४३९.३ मिलियन ब्यारेल व्यावसायिक भण्डारण छ ।
जापानः जापानले आफ्नो ऊर्जा आवश्यकताको करिब ८० प्रतिशत आयातमा निर्भर रहेकाले ठूलो सञ्चिती राखेको छ । जापानसँग सरकारी र निजी क्षेत्रको गरी करिब ४७० मिलियन ब्यारेल तेल भण्डारणमा छ, जुन करिब १४६ देखि २५४ दिनको खपतलाई पुग्ने अनुमान गरिएको छ ।
चीनः चीन आइएइ को पूर्ण सदस्य नभए पनि रणनीतिक भण्डारणमा निकै अगाडि छ । चीनले आफ्नो घरेलु आपूर्ति सुरक्षाका लागि भण्डारण विस्तार गरिरहेको छ, जसमा २२० मिलियन ब्यारेल भन्दा बढी तेल सञ्चित छ ।
जर्मनी र युरोपः जर्मनीले करिब ११० मिलियन ब्यारेल कच्चा तेल र ६७ मिलियन ब्यारेल प्रशोधित पेट्रोलियम पदार्थ सञ्चित गरेको छ । आइइए् सदस्यका रूपमा युरोपेली देशहरूले सामान्यतया ९० दिनको आवश्यकता पुग्ने गरी सञ्चिती राख्ने गर्दछन् ।
दक्षिण कोरियाः दक्षिण कोरियासँग पनि करिब ९६ मिलियन ब्यारेल रणनीतिक तेल सञ्चिती छ, जसले करिब ११० दिनको आपूर्ति धान्न सक्छ ।
साउदी अरब, भेनेजुएला र इरान जस्ता देशहरूसँग विश्वको सबैभन्दा धेरै तेल भण्डार छ । तथापि उनीहरु आफै उत्पादन गर्ने भएकाले सञ्चिती भन्दा पनि उत्पादनमा जोड दिन्छन् ।
रणनीतिक सञ्चितीमा किन चुक्यो नेपाल ?
२०७२ असोजमा भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका बेला नेपालले इन्धनक संकट ब्यहार्नु परेको थियो । भारतबाट आयात ठप्प भएपछि पेट्रोल र ग्याँस अभाव झेलेको नेपालले भारतको विकल्पमा चीनबाट पेट्रोलियम पदार्थको आयात गर्यो । त्यतिबेलै नेपालको सञ्चितीमा प्रश्न उठेको थियो । जब अभाव हुन्छ तब मात्र सञ्चितीको कुरा उठ्ने गरेको नेपाल सञ्चितीको रणनीतिमा चुकेको छ । सञ्चितीको आवश्यकता औल्याउने सरकारी निकाय नै भण्डारण गृह निर्माणका लागि आवश्यक स्रोत नभएको बताउँछन् ।
नेपालमा पाइपलाइन बनेपछि भण्डारण क्षमतामा केही बृद्धि भएपनि पर्याप्त छैन । नेपाल आयल निगमका प्रवक्ता मनोजकुुमार ठाकुरले १० वर्षमा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढेर १२ दिनको माग धान्न पुग्ने भएको बताउँछन् । विभिन्न ठाउँमा भण्डार गृहका लागि काम भइरहेको पनि उनले बताए । ठाकुर भन्छन्, ‘नेपालमा उत्पादन नहुने भएकाले अहिलेको इन्धन भण्डारणलाई पर्याप्त मान्नुपर्छ । भारतमा १० देखि १५ दिनसम्मको माग धान्ने सञ्चिती छ । तर क्रुड आयल (कच्चा तेल) को भने ५० देखि ६० दिनको माग धान्न सक्ने सञ्चिती छ । लागत बढी लाग्ने भएकाले नेपालमा रिफाइनरी (प्रशोधन) बनाएर अर्थ छैन । हाम्रो अर्थतन्त्रले धेरै धान्दैन ।’
इन्धन सञ्चिति आवश्यक छ तर क्षमता र स्रोत अभाव छः आयल निगम, प्रवक्ता मनोज ठाकुर
नेपालमा इन्धन सञ्चिती आवश्यक हो तर क्षमता छैन र राज्यकोषमा पैसा छैन । जबसम्म हामी आर्थिक रुपमा सवल हुँदैनौं तबसम्म यस्ता कुरा व्यवहारिक रुपमा कार्यान्वयन गर्न कठिनाइ हुन्छ । अहिले हामीले प्राप्त गर्ने इन्धनको मूल्य भनेको १५ दिनको औषत हो । सस्तो हुँदा भण्डारण गरेर राख्ने धेरै हुँदा कम किनेर राख्ने भन्ने हुँदैैन । जुनसुकै मूल्यमा भएपनि केही दिनको भण्डारण हुनै पर्यो ।
०७२ असोजमा भारतले गरेको अघोषित नाकाबन्दीको पाठ सिकेर निगमले अहिले इन्धन भण्डारण क्षमता बढाएको हो । त्यतिबेला इन्धन भण्डारण क्षमता एक सातालाई पुग्ने थियो । अहिले भण्डारण क्षमता बढेर १२ दिनको बजार माग धान्ने भएको छ ।
अहिले पेट्रोल र डिजेलको माग १३ दिन, मटितेलको माग ४२ दिन र हवाई इन्धन १० दिनसम्म धान्न सक्ने गरी भण्डारण क्षमता छ । पाइपलाइन बनेपछि अमलेखगंजमा भण्डारण थपियो । झापामा १८ हजार किलोलिटरको पाइपलाइन बन्दैछ । अमलेखगंजको पाइपलाईन चितवनमा आउने र ९१ हजार किलोलिटरको हवाइ इन्धन सहितको स्टोरेज बन्दैछ ।
निगमसँग खाना पकाउने ग्यासको भण्डारण क्षमता भने शून्य रहेको छ । पोखरामा थप १० हजार किलोलिटर डिजेल थपिएर १२ हजार २ सय ८० किलोलिटर पुगेको छ । निगमलाई अहिले १५ दिनमा ५ अर्ब घाटा छ । यो घाटा सञ्चिती नभएर होइन अन्र्तराष्ट्रिय मूल्य बढेर हो ।
एकातिर पेट्रोलियम पदार्थको खपत घटाउँदै लैजाने अर्को तिर विद्युतीय प्रयोग बढाउँदै लैजाने भनेका छौँै । राज्यले लिएको नीतिले भण्डारण क्षमता भन्दा विद्युतीय प्रयोगमा जोड दिन्छ ।
भण्डारण बढाउने योजना कागजमै सिमित भयोः पुरुषोत्तम ओझा, पूर्व वाणिज्य तथा आपुर्ति सचिव
विभिन्न मुलुकले आफ्नो क्षमता र खपतको आधारमा भण्डारण राख्ने गरेका छन् । नेपालमा त्यस्तो छैन । नेपालमा विगतका विभिन्न अध्ययनले कम्तीमा ३ महिनाको लागि भण्डारण हुनुपर्छ भनेर सुझाव दिएको हो । भानु आचार्य आयोगको अध्ययनले पनि ३ महिनाको सञ्चितीको आवश्यकता औँैल्याएको थियो ।
आयल निगममो गोपाल बहादुर खड्का प्रबन्ध निर्देशक हुदा भण्डारणकै लागि भनेर जग्गा किन्ने काम भयो तर त्यसमा घोटाला भएको भन्दै छानविन भएको छ । भण्डारण क्षमता बढाउने नाममा राज्यकोषको पैसा दुरुपयोग भयो । खोलाको किनारको जग्गा किनेर गोलमाल भयो । कार्यान्वयन गर्ने इच्छाशक्ति र इमान्दारिता नेतृत्वमा भएन । आपुर्ति सहज भएको बेला विर्सने र असहज भएको अवस्थामा भण्डारण षमता बढाउनुपर्छ भनेर आवाज उठ्ने गरेको छ । यसको दीर्घकालिन समाधान कहिले पनि भएन । सञ्चितीले मूल्य बृद्धि केही समयका लागि धकेल्न मदत गर्छ । आपुर्ति असहज भएको बेला सहज गर्न सकियोस भनेर भण्डारण क्षमता बढाउनुपर्ने हो । तर इमान्दारिता पुर्वका कार्यान्वयन भएन । विद्युतीयकरण भएपनि भण्डारण क्षमता बढाउँदा सप्लाइको निश्चितता हुन्छ । इन्धनको क्षमता बढाएर
विद्युतीकरण भएपनि तेलको खपत शुन्यमा त ल्याउन सकिँदैन नी त्यसकारण पनि भण्डारण क्षमताको बृद्धि आवश्यकता हो । संकटको व्यवस्थापन र संकटको अवस्था टार्न पनि भण्डारण क्षमता बढाउनुपर्छ ।
(वाणिज्यपोष्ट म्यागेजिनबाट साभार)
प्रतिक्रिया