‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

२०८३ जेठ ०३ गते

‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको एक ब्रान्डको आइसक्रिममा गुणस्तरसम्बन्धी समस्या भेटिएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ।

विभागले २०८३ जेठ १ गते जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा संकलन गरिएको आइसक्रिमको नमुनामा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्ट मापदण्डभन्दा बढी भेटिएको हो।

Advertisement:

Ad
Ad

 

विभागका अनुसार परीक्षणमा उत्पादन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मानव उपभोगका लागि उपयुक्त नरहेको देखिएपछि सम्बन्धित उत्पादक कम्पनीलाई उक्त उत्पादन बजारबाट फिर्ता गर्न र थप बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ। सूचनाअनुसार फिर्ता गर्न भनिएको उत्पादन ‘नोभा’ ब्रान्डको १,००० मिलिलिटर आइसक्रिम हो, जसको ब्याच नम्बर C02 रहेको छ। उक्त उत्पादन पोखरा औद्योगिक क्षेत्रमा रहेको उत्पादक कम्पनीले उत्पादन गरेको विभागले जनाएको छ।

 

विभागले उपभोक्तालाई पनि सो ब्याचको उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ।