२०८२ जेठ २९ गते
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । बिलिङ प्रणाली ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रबन्ध निर्देशक संगीता पहाडी निलम्बनमा परेपछि मास्केलाई उक्त जिम्मेवारी दिइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तरीय) निर्णय बमोजिम मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।
पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया