३५ वर्षसम्म सञ्चालन गर्न पाइने गरी विराटनगर जुट मिलले खोज्यो रणनीतिक लगानीकर्ता

२०८३ मंसिर ०९ गते

३५ वर्षसम्म सञ्चालन गर्न पाइने गरी विराटनगर जुट मिलले खोज्यो रणनीतिक लगानीकर्ता

काठमाडौं । नेपालको पहिलो आधुनिक उद्योगका रूपमा परिचित विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। मिलको पुनर्जीवन, आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि विराटनगर जुट मिल्स लिमिटेडले स्वदेशी तथा विदेशी रणनीतिक लगानीकर्तासँग आशयपत्र मागेको छ।

 

Advertisement:

Ad

वि।सं। १९९३ मा स्थापना भएको जुट मिल लामो समयदेखि बन्द तथा समस्याग्रस्त अवस्थामा छ। उद्योगलाई नयाँ प्रविधि र लगानीसहित पुनः सञ्चालनमा ल्याउने उद्देश्यले कम्पनीले लगानीकर्ता छनोट प्रक्रिया अघि बढाएको हो।

 

प्रस्तावअनुसार विराटनगर र दमकमा रहेका ६७ बिघा औद्योगिक जग्गा उपयोग गरी दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गरिनेछ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने कम्पनीको अनुमान छ।

 

जुटको धागो, हेसियन कपडा, बोरा, भू–प्राविधिक सामग्री तथा वातावरणमैत्री प्याकेजिङ वस्तु उत्पादन गरी स्वदेशी बजारसँगै भारत र दक्षिण एसियाली मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ।

 

लगानीकर्तालाई आकर्षित गर्न कम्पनीले विगतका ऋण, श्रमिकसम्बन्धी समस्या तथा अन्य ऐतिहासिक दायित्वको भार नयाँ लगानीकर्तामाथि नपर्ने व्यवस्था प्रस्ताव गरेको छ। उद्योग सार्वजनिक–निजी साझेदारी वा दीर्घकालीन औद्योगिक भाडा सम्झौतामार्फत सञ्चालन गर्न सकिनेछ। सम्झौताको अवधि अधिकतम ३५ वर्षसम्म रहनेछ।

 

लगानीकर्ताले उद्योगको प्रकृतिअनुसार संयुक्त लगानी, रोयल्टी भुक्तानी वा निर्माण, सञ्चालन तथा हस्तान्तरण ९बीओटी० मोडलसमेत अपनाउन सक्नेछन्। औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार उपलब्ध हुने कर तथा भन्सार सुविधासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

तर, लगानीकर्ताका लागि अनुभव र क्षमतासम्बन्धी मापदण्ड कडा राखिएको छ। जुट उद्योगमा कम्तीमा २० वर्षको सफल अनुभव, दैनिक १०० मेट्रिक टन उत्पादन क्षमताको उद्योग सञ्चालन गरेको प्राविधिक दक्षता तथा स्वदेशी र अन्तर्राष्ट्रिय बजारमा बिक्री सञ्जाल भएको हुनुपर्नेछ।

 

आशयपत्रसँगै कम्पनीको विवरण, पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणित कागजात पेस गर्नुपर्नेछ। प्रारम्भिक छनोटमा परेका लगानीकर्तालाई उद्योगको स्थलगत निरीक्षण तथा सम्पत्ति र कानुनी विवरण अध्ययन गर्ने अवसर दिइनेछ।

 

कम्पनीले आशयपत्र पेस भएको एक महिनाभित्र छनोट भएका लगानीकर्तासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने लक्ष्य राखेको छ। इच्छुक लगानीकर्ताले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आशयपत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा विराटनगर जुट मिल्स लिमिटेडको कार्यालयमा बुझाउन सक्नेछन्।