२० दिनमा सुनको मूल्य ४७ हजार ५ सय रुपैयाँले घट्यो

२०८३ मंसिर ०९ गते

२० दिनमा सुनको मूल्य ४७ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । कात्तिकको मध्यदेखि मंसिर ९ गतेसम्मको मूल्य  विश्लेषण गर्दा सुन र चाँदी दुवैको मूल्यमा तीव्र ओरालो लागेको छ । विशेषगरी कात्तिक १९ गते उच्च बिन्दुमा पुगेको सुनको मूल्य त्यसपछि लगातार घट्दै मंसिर ९ गतेसम्म आइपुग्दा ४७ हजार ५०० रुपैयाँले घटेको छ ।

 

Advertisement:

Ad

सुन चाँदी व्यवसायी महासंघको विवरणअनुसार कात्तिक १५ गते फाइन गोल्डको मूल्य २ लाख ७२ हजार रुपैयाँ रहेको थियो । त्यसको चार दिनपछि अर्थात् कात्तिक १९ गते सुनको मूल्य बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो ।  तर त्यसपछि भने सुनको बजारमा गिरावटको क्रम सुरु भयो । कात्तिक २० गते सुनको मूल्य घटेर २ लाख ८३ हजार रुपैयाँमा झरेको थियो । कात्तिक २२ र २३ गते केही स्थिरता देखिए पनि त्यसपछि मूल्यले पुनः ओरालो यात्रा समात्यो ।

कात्तिक २३ गते २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य कात्तिक २७ गते २ लाख ७१ हजार ७०० रुपैयाँमा झर्‍यो । कात्तिक मसान्तमा आइपुग्दा मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ कायम भयो ।

 

मंसिर लागेपछि पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । मंसिर १ गते २ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर २ गते २ लाख ६० हजार ९०० रुपैयाँमा झर्‍यो । मंसिर ३ गते २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको मूल्य मंसिर ४ गते एकैपटक १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा आइपुग्यो ।

 

मंसिर ६ गते सुनको मूल्य अझै घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भयो । मंसिर ७ र ८ गते भने क्रमशः २ लाख ४७ हजार ४०० र २ लाख ४७ हजार ९०० रुपैयाँ पुग्दै केही सुधार देखिएको थियो । तर उक्त सुधार टिक्न सकेन । मंसिर ९ गते पुनः ६ हजार ५०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

 

यसरी कात्तिक १९ गतेको उच्च मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँसँग तुलना गर्दा मंसिर ९ गतेसम्म सुन ४७ हजार ५०० रुपैयाँले सस्तिएको छ । प्रतिशतका आधारमा यो करिब १६।४४ प्रतिशतको गिरावट हो ।

 

चाँदीमा झन् ठूलो  गिरावट

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ ।  तथ्यांकअनुसार कात्तिक १५ गते चाँदीको मूल्य ३ हजार ६५० रुपैयाँ थियो । कात्तिक १९ गते बढेर ३ हजार ९२० रुपैयाँ पुगेको चाँदी त्यसपछि क्रमशः घट्न थालेको हो ।

 

कात्तिक २३ गते ३ हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य कात्तिक मसान्तमा ३ हजार ५२० रुपैयाँमा झर्‍यो । मंसिर १ गते ३ हजार ४९० रुपैयाँ रहेको चाँदीको मूल्य मंसिर २ गते ३ हजार ३८० रुपैयाँ र मंसिर ३ गते ३ हजार ३३५ रुपैयाँ कायम भयो । मंसिर ४ गते चाँदीको मूल्य घटेर ३ हजार ११० रुपैयाँमा आइपुग्यो । मंसिर ६ गते ३ हजार ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंसिर ७ र ८ गते सामान्य सुधारसहित क्रमशः ३ हजार ११० र ३ हजार १४५ रुपैयाँ पुग्यो । तर मंसिर ९ गते पुनः घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ ।

 

कात्तिक १९ गतेको उच्च मूल्य ३ हजार ९२० रुपैयाँसँग तुलना गर्दा मंसिर ९ गते चाँदी ८८० रुपैयाँले सस्तिएको छ । यो करिब २२।४५ प्रतिशतको गिरावट हो ।

 


सुनभन्दा चाँदीमा बढी मूल्यगत दबाब

तथ्यांकको तुलनात्मक विश्लेषण गर्दा सुनभन्दा चाँदीको मूल्यमा प्रतिशतका आधारमा बढी गिरावट देखिन्छ । कात्तिक १५ गतेको मूल्यलाई आधार मान्दा मंसिर ९ गतेसम्म सुन २ लाख ७२ हजारबाट २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको छ । यस अवधिमा सुनको मूल्य ३० हजार ६०० रुपैयाँ अर्थात् ११।२५ प्रतिशतले घटेको छ । त्यस्तै, चाँदी ३ हजार ६५० रुपैयाँबाट ३ हजार ४० रुपैयाँमा झरेको छ । यस अवधिमा चाँदीको मूल्य ६१० रुपैयाँ अर्थात् १६।७१ प्रतिशतले घटेको छ । यसले पछिल्लो अवधिमा चाँदीको मूल्यमा सुनको तुलनामा बढी प्रतिशतको गिरावट आएको देखाउँछ ।


 सुनचाँदी बजारमा कात्तिकको मध्यतिर देखिएको उच्च मूल्यपछि मंसिरको पहिलो सातासम्म लगातार बिक्री दबाब वा मूल्य समायोजनको अवस्था देखिएको छ । बीचमा केही दिन मूल्यमा सुधार आए पनि त्यसले समग्र घट्दो प्रवृत्तिलाई उल्ट्याउन सकेको देखिँदैन । विशेषगरी मंसिर ३ देखि ४ गतेको एकदिने मूल्य परिवर्तन उल्लेखनीय छ । उक्त अवधिमा सुन १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेका छन् । त्यसपछि पनि दुवै धातुको मूल्यमा उतारचढाव जारी रहेको छ ।