सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

२०८३ मंसिर ०९ गते

सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्‌बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन्।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री मेहताले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताइन्। 

Advertisement:

Ad


यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनले बताएकी छन्। 

मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागु गरिसकेको जानकारी दिइन्। 

देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा क्रियाशील बनाइएको उनले बताइन्। 

एम्बुलेन्सलाई सामान्य यातायातका साधनबाट आकस्मिक उपचार सेवासहितको साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको जानकारी पनि उनले दिइन्। 

त्यसैगरी ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा उनले जोड दिएकी छन्। 

दुर्घटनापछि देखिन सक्ने शारीरिक अपांगता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको उनले बताइन्। 

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै निष्कर्षमा पुर्‍याइने बताइन्। 

सेन्टरले विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा अग्रपंक्तिमा रहेर सेवा पुर्‍याइरहेको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताइन्। 

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबिचको सहकार्यलाई थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मेहताले बताइन्।