बैंकहरुले ऋण उठाउन नसकेपछि साढे सात प्रतिशतसम्म पुग्यो खराब कर्जा, बैकर्स भन्छनः जति बढ्नु बढ्यो अब बढ्दैन्

२०८२ वैशाख ०७ गते

बैंकहरुले ऋण उठाउन नसकेपछि साढे सात प्रतिशतसम्म पुग्यो खराब कर्जा, बैकर्स भन्छनः जति बढ्नु बढ्यो अब बढ्दैन्

काठमाडौ । बाणिज्य बैंकलाई खराब कर्जाले तनाव दिएको छ । बिशेष गरी निर्माण व्यवसायीको रकम सरकारले समयमै भुक्तानी नगर्दा उनीहरुले पनि बैंकलाई ऋण तिर्न सकेका छैनन् । जसको कारण बैंकको खराब कर्जा बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले ऋणको पुर्नसंरचना र पुर्नतालिकीकरण गर्न पटक पटक समय थप गरेकै कारण खराब कर्जा उकालो लागेको बैंकर्सहरु बताउँछन् ।

सञ्चालनमा रहेका २० वटै बाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक बर्षको २०८१÷०८२ को तेस्रो त्रैमाससम्मको (साउन देखि चैतसम्म) वित्तिय विवरण अनुसार अधिकांश बाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरुलाई अहिले खराब कर्जाको तनाब थपिएको छ । सबैभन्दा बढी खराब कर्जाको मारमा हिमालयन बैंक परेको छ । यो बैंकको खराब कर्जा साढे सात प्रतिशत माथि पुगेको छ ।

Advertisement:

Ad
Ad

यता प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकको खराब कर्जा पनि ५ प्रतिशत माथि पुगेको छ । समान्यतया पाँच प्रतिशत भन्दा माथि खराब कर्जा हुनुलाई राम्रो मानिदैन । यद्यपि खराब कर्जाको कुनै थ्रेसहोल्ड भने निर्धारण छैन । तर पछिल्लो केही महिना अघि नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक लगानीको प्रयोजनार्थ ८ प्रतिशत भन्दा बढी खराब कर्जा ननाघेको बैंकहरु भनेर शर्त राखेपछि कतिपय बैंकहरुको खराब कर्जा बढ्दै छ भन्ने संकेत चाहि देखिएको थियो । किनभने त्यसअघि केन्द्रिय बैंकले पाँच प्रतिशत भन्दा बढी नभएको भनेर शर्त राख्ने गरेको थियो । सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको देखिएको छ । यस बैंकले अझै खराब कर्जा घटाएको छ । ०.०६ प्रतिशतले यसको खराब कर्जा घटेर ०.६४ प्रतिशत कायम भएको छ ।

बैकर्स भन्छनः जति बढ्नु बढ्यो अब बढ्दैन्

बैंकर्सहरुले भने आगामी त्रैमासमा बैंकहरुको खराब कर्जा यो भन्दा नबढ्ने बताएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङले निर्माण क्षेत्र र साना तथा मझौला उद्यममा समस्या हुँदा बैंकको खराब कर्जा ह्वात्तै बढेको बताउँछन् । उनी भन्छन, ‘निर्माण क्षेत्रले र साना तथा मझौला उद्यमले ऋण तिर्न नसकेको देखिन्छ त्यसैको रिफ्लेक्सन हो खराब कर्जाको बृद्धि ।’खराब कर्जा लगभग बढीसकेकोले आगामी त्रैमासमा यो भन्दा बढी नहुने आँकलन समेत खालिङको छ ।

यता,सबैभन्दा बढी खराब कर्जा देखिएको हिमालयन बैंकका सिइओ अशोक शम्शेर राणा भने खराब कर्जा अधिक बढी हुनुमा तत्कालिन सिभिल बैंकको ऋण एडजस्टमेन्टमा समस्या रहेको बताए । उनले भने, ‘हामीले सिभिललाई एक्वायर गर्दा उसको पोर्टफोलियो म्यानेजमेन्टमा समस्या भएको छ । जति बढ्नु तेस्रो त्रैमासमा बढ्यो अब यो भन्दा बढी हुदैन ।’ अर्कोतर्फ समग्र बैकिङ उद्योग नै खराब कर्जाको चपेटामा पर्नुमा अर्थतन्त्र अझै पनि चलायमान छैन भन्ने संकेत भएको उनले बताए ।

बैकिङ विज्ञ भुवन दाहाल बैंकहरुले कर्जाको पुर्नतालिकीकरण र पुर्नसंरचना गरेकै ऋण अहिले आएर खराब कर्जामा दर्ज भएकोले बढेको देखिएको बताउँछन् । होेइन भन नयाँ खराब कर्जा बढेको छैन । पछिल्लो समय बैंकहरुको विभिन्न आम्दानी बढ्नुले पनि अर्थतन्त्र विस्तारै चलायमान भइरहेको संकेत दिएको छ, दाहाल भन्छन । खराब कर्जा बढ्नुको कारण धेरै भए पनि मुख्य रूपमा अर्थतन्त्रमा देखिएको शिथिलता नै प्रमुख भएको बैंकर्सको भनाई छ । बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जा खराब कर्जा (एनपिएल) मा दर्ज हुन्छ । खराब कर्जा बढ्दै गए बैंकको विश्वसनियतामा आँच आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खबर