२०८२ जेठ ०७ गते
काठमाडौ । सेयर बजारले लामो समयदेखि राम्रो गति लिन सकेको छैन । स्थिर जस्तो बनेको सेयर बजारका केही लगानीकर्ताहरुले तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले लिएका नीतिकै कारण बजार नबढेको आरोप लगाउँदै आएका थिए ।
साथै ती लगानीकर्ताहरु अधिकारीको बर्हिगमनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । अधिकारी गत चैत २४ गते कार्यकाल सकाएर विदा भए तर बजारले गति लिएन । यसमा पनि नयाँ गभर्नरको पर्खाइमा सेयर लगानीकर्ता रहेको भन्दै विश्लेषण हुन थाल्यो । मंगलबार (जेठ ६) नेपाल राष्ट्र बैंकले नयाँ गभर्नरको रुपमा डा. विश्व पौडेललाई पाएको छ । यो सँगै के अब सेयर बजारले गति लिन्छ त भन्ने प्रश्न उब्जिएको छ ।
उसो त नवनियुक्त गभर्नर पौडेल पुँजी बजारका विषयमा राम्रो ज्ञान भएका व्यक्ति मानिन्छन् । उनले आफ्नो विभिन्न प्रकाशनमा पुँजी बजारको पक्ष लिएर लेखेका छन् । यस हिसाबले पनि उनी पुँजी बजारमैत्री भएको बुझिन्छ । उनी पुँजीबजारमा हस्तक्षेप हुनुहुदैन स्वतन्त्र चल्न दिनुपर्छ भन्ने मान्यता राख्छन् । यसकारण पनि आम लगानीकर्ताहरुले उनको नियुक्तिमा खुसी जनाएका छन् । कतिपय लगानीकर्ता अब बजार बढ्छ भन्ने आत्मविश्वासमा छन् ।
मंगलबारको बजारमा आएको बढोत्तरीले पनि पौडेललाई लगानीकर्ताले रुचाउँने छनक देखिएको छ । उनको नियुक्तिको हल्लासँगै मंगलबार बजार ४९.०९ अंक बढेर २ हजार ६७७ अंकको बिन्दु पार गरेको थियो । बजारसँगै कारोबार रकममा पनि बढोत्तरी थियो । पोडेलले सेयर बजारको स्थायित्वको नीति लिने अपेक्षा आम लगानीकर्ताको छ । आज पनि बजार खुल्ने वित्तिकै बढेको छ । बजार खुलेको बजार खुलेको नौ मिनेटमा १ अर्ब ३५ करोड बढीको कारोबार भएको छ ।
अहिले प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदार गरिरहेका छन् । अर्थमन्त्री एमालेबाट विष्णु पौडेल छन् भने योजना आयोगका उपाध्यक्ष पनि एमालेकै कोटाको छ । तर राष्ट्र बैंकको गभर्नर भने नेपाली कांग्रेसको छ । यद्यपि फरक दल भएपनि सत्ता साझेदार भएकाले आपसी समझदारीमा एकले अर्कालाई सहयोग गर्न सक्ने देखिन्छ । विगतमा फरक दलको अर्थमन्त्री र गभर्नर विच भएको पानी बाराबारको स्थिती नआउला भन्ने अनुमान गर्न सकिन्छ ।
तर यदि कांग्रेस सत्ताबाट बाहिरिएको अवस्थामा भने गभर्नर पौडेलको व्यवहार फेरिने सम्भावना पनि छ । गभर्नर नियुक्तको विषयलाई लिए र सरकारनै फुट्ने स्थिती भएपनि अहिले कांग्रेसले मागेकै मान्छे गभर्नर बनेपछि भने केही समय अझ यो सरकार सँगसँगै जाने देखिन्छ । यसले पनि यी दुइ निकायबिच काम गराइमा तादम्यता मिल्न सक्छ ।
प्रतिक्रिया