अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

२०८२ कात्तिक १२ गते

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधवार) ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। बजारमा निरन्तर बढी तरलता देखिएपछि केन्द्रीय बैंकले ब्याजदर सन्तुलन र तरलता व्यवस्थापनका लागि यो कदम चालेको हो।

अहिले बैंकिङ प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुनेछ।

Advertisement:

Ad
Ad

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको सावाँ र ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ।

खुला बजार कारोबार कार्यविधिअनुसार, दीर्घकालीन तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले अधिकतम ६ महिनासम्मका निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले आवश्यकतानुसार पटक–पटक यस्तो निक्षेप संकलन गर्दै आएको छ।