२०८१ कात्तिक ०७ गते
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको भन्ने कुरा गलत भएको प्रष्टिकरण दिएका छन् । बुधबार मन्त्री भएपछिको १०० दिने कार्यकालको समिक्षाबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री खड्काले कुलमानलाई हटाउने कुरा हास्यास्पद भएको बताएका हुन् ।
गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो ।साथै घिसिङसँग सरकारले नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण लगायतका विवरण मागेको छ । १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउने आज बुधबार अन्तिम दिन थियो ।
चित्तबुझ्दो जवाफ पेश नभए कुलमानलाई पदबाट हटाउन सक्ने सरकारको तयारी रहेको अनेकन् आशंकाकाबीच उर्जामन्त्री खड्काको भनाईले सरकार घिसिङमाथि नरम भएको हो कि अनुमान गर्न थालिएको छ ।
प्रतिक्रिया