२०८२ कात्तिक ०९ गते
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारको नाम अन्तिम समयमा मन्त्री सूचीबाट हटाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले उनलाई तत्काल मन्त्री नबनाउने निर्णय लिएको स्रोतले जनाएको छ। आज दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय भए पनि सुनार त्यसमा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री कार्कीले आजै बिहान सुनारसहित चार जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन्। तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको तथ्य सार्वजनिक भएपछि उनलाई मन्त्री सूचीबाट हटाइएको बताइएको छ।
सामाजिक सञ्जालमा समेत उनको नियुक्ति विषयमा तीव्र आलोचना भएपछि, सम्भावित विवाद टार्न प्रधानमन्त्रीले निर्णय फिर्ता लिएकी हुन्।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस भएका गणपतिलाल श्रेष्ठले पनि आज शपथ नलिने भएका छन्। श्रेष्ठको शपथ किन रोकिएको भन्नेबारे भने औपचारिक जानकारी आएको छैन।
त्यसैबीच, डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता भने आजै शपथ लिन तयारी अवस्थामा छन्। गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रतिक्रिया