कलंकीमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, १ छात्राको मृत्यु,प्रिन्सिपल सहित ७ जना घाइते

२०८२ असार ०२ गते

कलंकीमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, १ छात्राको मृत्यु,प्रिन्सिपल सहित ७ जना घाइते

काठमाडौँ । काठमाडौंको कलंकीमा रहेको इडिफाई इन्टरनेसनल स्कुलको हाताभित्रै माइक्रो भ्यान दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ भने प्रिन्सिपल सहित अन्य सात विद्यार्थी घाइते भएका छन् । सोमबार अपरान्ह १ बजेको समयमा स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको माइक्रो भ्यान एकाएक स्पिडमा गुड्दा ठोक्किएर दुर्घटना भएको हो । 

 

Advertisement:

Ad
Ad

दुर्घटनामा सर्लाही  स्थायी घर भई कुलेश्वर  बस्ने नौ वर्षीया  सोनाक्षी यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

 

दुर्घटनामा विद्यालयका प्रध्यानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षीय सुरज पोख्रेल तथा गाडीचालक धनुषाका ६० वर्षीय  हर्कबहादुर कार्की पनि घाइते भएका छन् । त्यस्तै स्कुल हाताभित्र खेलिरहेका सर्लाहीको लालबन्दी स्थायी घर भएकी आठ वर्षीया रेश्मा मोक्तान, रामेछापकी नौ वर्षीया नेसिया थापा, कीर्तिपुरकी नौ वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका,  गुल्मीकी नौ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन्।  

 

विद्यालयले विद्यार्थी ओसारपसार गर्ने प्रयोजनका लागि केही हप्ता अघि मात्र उक्त विद्युतीय माइक्रो भ्यान स्कुल भित्र्याएको थियो । चालक नयाँ गाडी चलाउन अभ्यस्त भैसकेका थिएनन् । त्यसैकारण सोमबार पनि चालक कार्कीले जब भ्यान बाहिर निकाल्न खोजे एकाएक एक्सलरेटर बढी दाबिएको र गाडी सम्हाल्न नसक्दा दुर्घटना हुन पुगेको प्रहरीले बताएको छ  ।