२०८२ असार १९ गते
काठमाडौं। नेपालको ऊर्जा क्षेत्रको भविष्यलाई मार्गदर्शन गर्ने उद्देश्यले पावर समिट २०२५ आगामी असोज १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा हुने यस अन्तर्राष्ट्रिय सम्मेलनले ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ भन्ने नाराका साथ ऊर्जा उत्पादन, नीतिगत बहस र क्षेत्रीय व्यापारका सम्भावनाहरूमा गहन छलफल गर्नेछ।
सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ मा उल्लेखित २५,००० मेगावाट उत्पादन लक्ष्यलाई मूर्तरूप दिन निजी क्षेत्र सक्रिय बनेको छ। यसै सन्दर्भमा आयोजना हुने समिटले हरित ऊर्जा, ऊर्जा सुरक्षा र दिगो विकासका विषयमा नीति निर्मातादेखि लगानीकर्ता, विज्ञ र कूटनीतिक प्रतिनिधिहरूबीच बहसको प्लेटफर्म बनाउनेछ।
इप्पानका अनुसार हाल नेपालमा उत्पादन हुने कुल ३,६०२ मेगावाट विद्युतमध्ये ८० प्रतिशतभन्दा बढी (२,९०० मेगावाट) निजी क्षेत्रबाट उत्पादित हुँदै आएको छ। पछिल्लो २५ वर्षमा निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने आगामी योजनाहरू अनुसार ५० खर्ब रुपैयाँसम्मको थप लगानीको तयारी भइरहेको छ। अहिले निजी क्षेत्रको अगुवाइमा ४,२०० मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा छन् भने ४,१०० मेगावाटका आयोजना पीपीए सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन्।
समिटमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय संरक्षकको रूपमा रहनेछ भने भारतको दूतावास देशीय साझेदारको रूपमा आबद्ध हुनेछ। सम्मेलनमा प्रधानमन्त्रीसहित ३० भन्दा बढी देशका प्रतिनिधि, कूटनीतिक नियोग, बैंक तथा वित्तीय संस्था, निर्माण व्यवसायी, बीमा कम्पनी, विश्वविद्यालय, र सरोकारवाला निकायहरूको सहभागिता रहने अनुमान छ। सहभागी संख्या एक हजारभन्दा बढी हुने अपेक्षा गरिएको छ।
यो समिट २००६ देखि २०२३ सम्म सम्पन्न भएका आठ संस्करणहरूपछिको नवौं संस्करण हो। यस संस्करणमा हरित ऊर्जा प्रवर्द्धन, विद्युत तथा कार्बन व्यापार, अन्तरदेशीय पूर्वाधार निर्माण र नेट जिरो इमिसन लक्षित नीतिमा विशेष जोड दिइनेछ।
इप्पानले पावर समिट २०२५ लाई नेपालको उदीयमान ऊर्जा क्षमतालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी र निर्यातोन्मुख बनाउने यन्त्रका रूपमा लिएको छ। सम्मेलनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय हरित ऊर्जा नेतृत्वकर्ता राष्ट्रको रूपमा चिनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया