इजरायल र अमेरिकाको कडा विरोधकाबीच आयरल्याण्डले दियो प्यालेस्टाइनलाई राज्यको मान्यता

२०८१ जेठ ०९ गते

इजरायल र अमेरिकाको कडा विरोधकाबीच आयरल्याण्डले दियो प्यालेस्टाइनलाई राज्यको मान्यता

डब्लिन । आयरिश सरकारले बुधबार प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गरेको छ ।  बुधबार एक कार्यक्रमका माझ आयरल्याण्डका प्रधानमन्त्री सिमोन ह्यारिसले सो घोषणा गरेका हुन् ।  उक्त कदमलाई इजरायलले भने कडा विरोध गरेको छ। आयरल्यान्डसँगै युरोपेली संघका सदस्यहरू स्पेन, नर्वे, स्लोभेनिया र माल्टाले पनि प्यालेस्टाइनलाई राज्यको मान्यता दिने योजना बनाएका छन् ।

हमासलाई परास्त गर्न इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या बढ्दै गएपछि यस क्षेत्रमा शान्तिको लागि युद्धविराम र दिगो समाधानको लागि विश्वव्यापी रूपमा आह्वान गरिएको छ। संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १३९ राष्ट्रले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्।आयरिश सरकारको मान्यताले शान्ति प्रयासलाई पूरक र दुई-राज्य समाधानलाई समर्थन गर्ने बताइएको छ।
त्यस्तै प्यालेस्टाइनमा शान्ती कायम गर्नुपर्ने भन्दै नर्वेले पनि २८ मेमा प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेको छ । यद्यपि अमेरिकाले यस अघि भीटो पावर प्रयोग गरेर इजरायलको समर्थन गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन अस्विकार गरेको थियो । प्यालेस्टाइनले स्वतन्त्र राज्यको मान्यता प्राप्त गरे स्वाधिनता र सार्वभौम रुपमा स्थापित हुनसक्छ । तर यसो नहुँदासम्म प्यालेस्टाइन इजरायलको अधिनस्थमा रहने र सधैं जमिनकै लागि युद्ध भड्किने खतरा देखिन्छ ।

Advertisement:

Ad
Ad