हिमालयन उर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

२०८१ साउन ०६ गते

हिमालयन उर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रूपैयाँको आधारमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका यी हकप्रद शेयर खरीदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेो थियो । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Advertisement:

Ad
Ad

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन पनि आवेदनका लागि प्रयोग गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स् क्रेडिट रेटिङ नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले दुई योजनाहरूबाट विद्युत विक्री गरिरहेको छ । कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत विक्री आम्दानी गर्दै आएको हो । हकप्रद शेयर निष्कासनबाट संकलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।