एकान्तकुनामा घरभाडामै लिएर तिनजना विदेशी नागरिकले यसरी गर्थे क्रिप्टोको कारोबार, प्रहरीले पुर्यायो जेलमा

२०८१ मंसिर १० गते

एकान्तकुनामा घरभाडामै लिएर तिनजना विदेशी नागरिकले यसरी गर्थे क्रिप्टोको कारोबार, प्रहरीले पुर्यायो जेलमा

काठमाडौ । ललितपुरमा घर भाडा लिएर कल सेन्टर स्थापना गरी क्रिप्टो करेन्सी कारोबार गर्ने तीन जना विदेशी नागरीकलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा दुई जना चिनिया नागरिक र एक जना फिलिपिन नागरिक रहेका छन् । उनीहरुले नेपाली नागरीकको समेत मिलेमतोमा ललितपुरको एकान्तकुना, एकतावस्ती स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर सञ्चालन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले नेपाली युवा युवतीहलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई क्रिप्टो मुद्रा कारोबार गरी रहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोले गत भदौ २६ गते तीन विदेशी नागरिकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । प्रहरी टोलीले तीन जना विदेशी नागरीक सहित ५० जना व्यक्तिहरुलाई कल सेन्टरमा अपराध गर्न प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट हिङ्गी, बबल, इन्साह, सलाम, मज, अकुपिड लगायतको डेटिङ एपमा विदेशी महिलाको फोटो प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुका पुरुष ब्यक्तिहरुलाई साथी बनाई अनलाइन प्लेटफर्म ह्यासप्याक मार्फत विभिन्न वालेटमा अमेरिकी डलर जम्मा गर्न लगाइएको पाइएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ गरिएका विदेशी नागरीक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा समेत संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता भएका थिए । उनीहरु पुन नेपालमा एकिकृत भई कल सेन्टर खोली अभौतिक मुद्राको कारोबारमा संलग्न भएको पाइएको हो । चिनिया नागरिक लिन क्विन झिङ, डिङ जियाहोङ र फिलिपिन्स नागरिक हनिपा सिन्सुहात रहेका छन् । भौतिक मुद्रा कारोबारको अधिकतम दश करोड चौतिस लाख त्रियानब्बे हजार पाच सय उनानपचास रुपैया पाच पैसासम्मको विगो मागदावी गरी अदालतमा मुद्दा दायर गरिएको थियो । ललितपुर जिल्ला अदालतमा उनीहरु पूर्पक्षको लागि कारागार चलान भएका छन् भने अन्य प्रतिवादीहरुलाई धरौटीमा छाडिएको छ ।

Advertisement:

Ad
Ad