धितो नराखी पाइने सामाजिक सुरक्षा कोषको सापटी योजनामा योगदानकर्ताको आकर्षण

२०८१ चैत ३१ गते

धितो नराखी पाइने सामाजिक सुरक्षा कोषको सापटी योजनामा योगदानकर्ताको आकर्षण

काठमाडौं । सामाजिक सुरक्षा कोषको सापटी योजनामा योगदानकर्ताको आकर्षण बढेकोे छ । योजना शुरु भएको तीन वर्षको अन्तरालमा योजनामा ३० हजार ८६४ जनाले ६ अर्ब ३९ करोड ६३ लाख १० हजार रुपैयाँ सापटी लिएका छन् । बिना धितो पाइने यो योजनामा योगदानकर्ताको आकर्षण देखिएको हो । २०७९ साल साउनमा सामाजिक सुरक्षा कोषले योगदानकर्ता सापटी निर्देशिका, २०७९ लागु गरेको थियो ।

२०७९ साउनबाट लागु निर्देशिका गत मंसिरमा पहिलो संशोधन भयो । उक्त संशोधित निर्देशिकाअनुरूप कोषले योगदानकर्ताका लागि घरजग्गा, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी दिँदै आएको छ ।सामाजिक सुरक्षा कोषका अनुसार, हालसम्म २० हजार ८०५ जनाले विशेष सापटी लिएका छन् । उनीहरूले कुल ६ अर्ब २८ करोड ७४ लाख २५ हजार रुपैयाँ सापटी लिएका छन् ।त्यसमा ५९ जनाले धितो राखी शैक्षिक र घरजग्गा सापटी लिएका छन् । उनीहरूले १० करोड ८८ लाख ८४ हजार सापटी लिएका हुन् । जसमा शैक्षिक सापटीअन्तर्गत ३३ लाख ५८ हजार ८०० चार जनाले लिएका छन् । घरजग्गा सापटीअन्र्तगत ५५ जनाले १० करोड ५५ लाख २६ हजार रुपैयाँ सापटी लिएका छन् ।

Advertisement:

Ad
Ad

विशेष सापटी लिन सहज हुने भएकाले यो सापटी लिनेहरू बढेका हुन् । रिटायरमेन्ट कोषमा १२ हजार ५०० रुपैयाँ पुगेपछि योगदानकर्ता विशेष सापटी लिनयोग्य हुनेछन् ।कोषको मापदण्डअनुसार योगदानकर्ताले जुनसुकै सापटी लिन कम्तीमा ३६ महिना कोषमा योगदान गर्नुपर्ने हुन्छ । कोषमा ३६ महिना आवद्ध भएपछि योगदानकर्ता कोषबाट प्रवाह हुने सापटीका लागि योग्य हुनेछन् । तर, यसका लागि केही मापदण्ड पनि छन् । कोषमा आवद्ध भएर ३६ महिना योगदान गर्नेहरू सापटी लिनयोग्य भए पनि सबैले सापटी लिन भने सक्दैनन् । कोषले तोकेका मापदण्डहरू योगदानकर्ताले पूरा गर्नुपर्नेछ ।

यस्ता सुविधा पाउन ३६ महिना योगदान गरेको हुनुपर्नेछ । तर, अन्य कोषबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएको भए त्यस्तो अवस्थामा ३६ महिनाको अवधि लागु नहुने योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा उल्लेख छ । यो निर्देशिकाको दफा २३ मा सापटी प्रवाह गर्ने मापदण्ड उल्लेख छ । यस दफाको उपदफा १ को (ख) मा “कोषको वृद्धवस्था सुरक्षा योजनामा योगदान गर्ने व्यक्तिलाई त्यस्तो सापटी प्रवाह गर्दा कम्तीमा ३६ महिनासम्म लगातार योगदान गरेका योगदानकर्तालाई मात्र सापटी उपलब्ध गराउन सकिने, तर अन्य कोषबाट कर्जा स्वीकार ९स्वाप० गरेको अवस्थामा समयको हद लाग्ने छैन,” उल्लेख छ ।

सापटी लिन बैंक, वित्तीय संस्था वा सहकारीको कर्जा भुक्तान नगरी कालोसूचीमा परेको हुन नहुने प्रावधान रहेको छ । तर, योगदानकर्ता विशेष सापटीको हकमा यो मापदण्ड लागु हुँदैन । धितोका लागि योगदानकर्तासँग राजमार्गले छोएको घरगग्गा हुनुपर्छ । यस्तो घरजग्गाको मूल्यांकन गरेर कोषले घर सापटीअन्तर्गत ७५ लाख रुपैयाँसम्म ऋण प्रवाह हुने कार्यविधिमा उल्लेख छ । घर सापटीको हकमा योगदानकर्ताले निर्माण वा खरिद गर्ने घरजग्गा धितोमा पनि सापटी लिन सक्ने व्यवस्था गरिएको छ ।