२०८१ चैत ३१ गते
काठमाडौँ । बैशाख १ गतेदेखि सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सन्ततीलाई पनि सुविधा दिने भएको छ । यस अघि कोषमा योगदान गर्ने योगदानकर्ताको दम्पती मात्रै समावेश भइरहेकामा अव छोराछोरीले समेत सुविधा पाउने भएका हुन् ।
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि पाँचौ पटक संशोधन गरेपछि थप सुविधा पाउने वातावरण बनेको हो । संशोधित कार्यविधी अनुसार ६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रूपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ । दुर्घटनामा परेमा योगदानकर्ताको उपचारमात्रै गर्ने यसअघिको व्यवस्थामा अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ ।
नयाँ कार्यविधी अनुसार योगदानकर्ताको कोषमा ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, व्यक्तिका पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको शिलशिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।
कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने व्यवस्था रहेको छ ।
प्रतिक्रिया