चतरामा आजदेखि महाकुम्भ मेला

२०८० चैत २७ गते

चतरामा आजदेखि महाकुम्भ मेला

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका सह अध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सह अध्यक्ष कार्कीले बताए । उनले भने, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसिटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”

Advertisement:

Ad
Ad

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।

चालीस दिन मदिरा र माछा मासु प्रतिबन्ध 

कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछा मासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सह अध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछा मासु बिक्रीमा रोक लगाइएको बताए ।

रासस