२०८२ जेठ ०५ गते
काठमाडौँ । काठमाडौँ महानगरमा महानगरको बजेट प्रभावित हुने गरी महानगर भित्रका वडाअध्यक्षहरु मेयर बालेन विरुद्ध उत्रिएका छन् । आफ्नो निर्णयमा सहमति नजनाउने समितिका संयोजकहरु हटाएर मेयर साहले नयाँ नियुक्ति गरेका चार मध्ये रास्वपाबाट निर्वाचित सदस्य बाहेक अरु तीन जना अध्यक्षले समितिमा नबस्ने निर्णय गर्दै मेयर साहलाई पत्र पठाएपछि महानगरमा हंगामा मच्चिएको हो । मेयर बालेनले ती तीनजना वडा अध्यक्षहरुलाई विषयगत समितिको संयोजक तोक्दै पत्र पठाएका थिए । तर उनीहरूले उल्टै बालेनलाई पत्र पठाएर विषयगत समितिको संयोजकमा रहन नसक्ने जवाफ दिएका छन् ।
सुशासन समितिका संयोजक दलबहादुर कार्की, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीद्वारा संयुक्त हस्ताक्षरित पत्रमा भनिएको छ– ‘तोकिएका जिम्मेवारीहरू कार्यपालिका बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिएको हुँदा तत्तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रूपमा जानकारीका लागि अनुरोध गर्दछौँ।’
मेयर साहको विरोध गरेका यसअघिका उक्त समितिका सभापतिहरु वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी र ८ का अध्यक्ष आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन थिए ।मेयर साहले आफू खुशी कार्यपालिका बैठक नबसी सभापतिहरुलाई हटाएको भन्दै अन्य सदस्यहरुले विरोध गरिरहेका छन् । पछिल्लो समय पुस ८ गते कार्यपालिकाको बैठक भएको थियो । झन्डै ५ महिना पुग्नलाग्दा बैठक बस्न सकेको छैन । अब पनि कार्यपालिका बैठक नबसे बजेट आउने अवस्था रहँदैन । मेयर साहले कार्यपालिका बैठक डाकेर नीति तथा कार्यक्रम र बजेट तयारी गर्नुपर्ने समयमा सदस्यहरु हटाउने र नियुक्त गर्ने काम गरेको भन्दै एमाले र कांग्रेसका वडाअध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।
हटाइएका अघिल्ला ४ जना संयोजकहरुको सुविधाका लागि महानगरले दिएको गाडी बालेनले फिर्ता गरेका छन् । गाडी फिर्तालगत्तै हिजो आइतबार बसेको कांग्रेस र एमाले पार्टीको महानगर कमिटीको बैठकले नयाँ जिम्मेवारी दिएका संयोजकलाई समितिमा नपठाउने निर्णय गरेलगत्तै मेयर साहलाई पत्र पठाएका हुन् । उपमेयर सुनिता डंगोलको उपस्थितिमा एमाले निकट वडाध्यक्षको बैठकले मेयर साहले अवैध रूपमा नियुक्ति गरेको समितिमा नजाने निर्णय थियो ।
आइतबार बसेको बैठकमा दुवै दल निकट वडाध्यक्षले मेयर साहले गरेको एकलौटी निर्णयविरुद्ध डटेर जाने सहमति गरेका छन् ।
प्रतिक्रिया