२०८१ कात्तिक २४ गते
रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पुन: उडान सुरुवात गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यावसायिक उडान थालेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै स्थगित गरेको उडान शनिवारदेखि पुनः सुरु गरेको हो । शनिवार बिहान ७ः४० बजे १७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एसियाले पनि नियमित उडान सुरु गरिसकेको छ । शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबइले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–दुबई–काठमाडौँ सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौँ–दुबई एक उडान गर्ने भएको छ ।
विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान भर्न थालेपछि अब भने विमानस्थल नियमित सञ्चालन हुने देखिएको छ ।
प्रतिक्रिया