२०८३ वैशाख १९ गते
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेका छन्।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनए (इस्लामिक रिपब्लिक न्युज एजेन्सी) का अनुसार इरानले अमेरिकासँग वार्ताका लागि बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तानसमक्ष नयाँ प्रस्ताव पठाएको छ। तर नयाँ प्रस्तावमा के छ भन्ने विषयमा आईआरएनएले केही उल्लेख गरेको छैन।
यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्ध अन्त्य र दिगो शान्ति स्थापना आफूहरूको प्रमुख प्राथमिकता रहेको बताएका छन्।तर अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानको नयाँ प्रस्ताव पनि स्वीकार गर्न नसकिने बताएका हुन्।
शुक्रबार राति फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘वार्ताका लागि इरानले गरेको नयाँ प्रस्ताव पनि मलाई स्वीकार्य छैन। इरानको नेतृत्व अलमलमा परेको छ र गम्भीर रूपमा विभाजित छ। उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आपसमै सहमति गर्न सकिरहेका छैनन्।’
यसअघि अप्रिल २६ र २७ मा पनि इरानले आफ्नो प्रस्ताव पेस गरेको थियो, जुन ट्रम्पले अस्वीकार गरे।ह्वाइट हाउसका एक अधिकारीका अनुसार इरानले आफ्नो नयाँ प्रस्तावमा आणविक मुद्दाको उल्लेख छैन, सोही कारण ट्रम्प असन्तुष्ट छन्।
ट्रम्प कुनै पनि हालतमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने अडानमा छन्।
प्रतिक्रिया