वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित,मिडियाहरूले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने

२०८३ असोज २१ गते

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित,मिडियाहरूले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ । आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए । 

बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर अचानक हावाहुरीसहितको ठुलो वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् । 

Advertisement:

Ad

कांग्रेसले बन्द सत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ । भोलि बिहान मतदान हुँदै छ ।  

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो । 

बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने उनले जानकारी दिए। साथै अन्य मिडियाहरूलेसमेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् । 

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सुगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।

बन्द सत्रमा सोमबारदेखि नै ती प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा सुझाव र धारणा राखेका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।

उनका अनुसार बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने भए पनि केही ढिलाइ हुन सक्नेछ। बाँकी रहेका धारणा तथा सुझावलाई समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

सभापति थापाले सम्बोधन गर्ने

बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ।

महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा व्यापक छलफल भइरहेको छ। बन्द सत्रबाट राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनको ध्यान अब निर्वाचनतर्फ केन्द्रित हुनेछ।