२०८३ असार १९ गते
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन अनुरोध गरेको छ।
बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने भनेको हो। गत मंसिर मसान्तसम्मको मात्र रकम भुक्तानी भएको बोर्डले जनाएको हो।
सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले को भनाइ छ। ‘चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार रकम भुक्तानी गरिएको जानकारी गराइन्छ। उक्त भुक्तानीसँगै २०८२ मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ,’ बोर्डले भनेको छ।
त्यसयताको रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। ‘मंसिर पश्चातका दाबी भुक्तानीका गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग समन्वय एवं पहल निरन्तर भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
रकम भुक्तानी नभएको समयसम्म सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगर्न र बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले आग्रह गरेको छ।
प्रतिक्रिया