२०८३ असार १९ गते
काठमाडौं । सरकारले आगामी साउनदेखि महिलाका लागि मात्रै निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा बस सञ्चालन गरिनेछ भने नयाँ बस खरिद नगरी हाल सञ्चालनमा रहेका साझा यातायातका बसलाई नै नीलो रङ लगाएर ‘ब्लु बस’मा रूपान्तरण गरिने भएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको हो। यसका लागि सरकार र साझा यातायातबीच सैद्धान्तिक सहमति भइसकेको छ भने बजेट स्वीकृतिसहितका केही प्रशासनिक प्रक्रिया मात्रै बाँकी रहेका छन्।
साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालका अनुसार ब्लु बसका लागि नयाँ सवारी खरिद गरिने छैन। हाल सञ्चालनमा रहेका साझा यातायातका बसलाई नै नीलो रङ लगाएर ब्लु बसका रूपमा सञ्चालन गरिनेछ।
उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने गरी सहमति भएको छ। बस सञ्चालन हुने रुट तथा अनुमानित खर्चको विवरण समेत सरकारलाई बुझाइसकिएको छ। अब अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अन्तिम सम्झौता गरी सेवा सञ्चालन गरिनेछ।
सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ब्लु बस सञ्चालन गर्ने योजना बनाएको छ। सुरुमा नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। त्यसपछि लगनखेल–बुढानीलकण्ठ तथा रिङरोड क्षेत्रमा थप बस सञ्चालन गरिने योजना छ। बाँकी बसको रुट आवश्यकता र व्यवस्थापनअनुसार विस्तार गरिनेछ।
यद्यपि, बसलाई ब्लु बसका रूपमा सञ्चालन गर्न आवश्यक रङ लगाउने तथा अन्य प्राविधिक तयारीका काम भने अझै सम्पन्न हुन बाँकी रहेको साझा यातायातले जनाएको छ।
सरकारले २०८२ चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’मा महिला सुरक्षा र सुरक्षित सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेको थियो। सोही कार्यसूचीअनुसार पहिलो १०० दिनभित्र कम्तीमा २५ वटा निःशुल्क ब्लु बस सञ्चालन गर्ने लक्ष्य तय गरिएको छ। त्यसअन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी क्रमशः सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको छ।
प्रतिक्रिया