२०८३ असार १९ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दुई कारोबार दिन सुधार देखिएको बजारमा यस दिन भने पुनः सामान्य करेक्सन आएको हो। शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले ओरालो लागेको छ।
यस दिन परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा शुक्रबार ३४५ वटा स्टकको ४६ हजार २३४ पटकको कारोबारबाट ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँमा किनबेच भएको छ।
यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्य करिब १५ प्रतिशत र खानी खोला हाइड्रोपावरको शेयरमूल्य ११.५ प्रतिशतभन्दा बढी बढेको छ। यता, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहँदै ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार १७ करोड ५० लाख रुपैयाँभन्दा माथि पुगेको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह भने घटेका छन्। वित्त उपसमूह सर्वाधिक १.०६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। विपरीत, बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया