२०८३ वैशाख १८ गते
काठमाडौँ । नेपालमा नयाँ उद्यम गर्नेहरुको संख्या दिनदिनै बढिरहेकोछ । स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८२ का लागि आह्वान गरिएको प्रस्तावमा १ हजार ३०१ प्रस्तावको आवेदन परेसँगै यो पुष्टि भएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनका लागि आएका प्रस्तावमध्ये १३ सय १ योग्य प्रस्तावको सूची सार्वजनिक गरेको हो ।
प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावहरुले अब थप मूल्याङ्कनका लागी आवश्यक पर्ने सूचनाको ढाँचा भरि २०८३ वैशाख २३ गते बेलुका ५ः०० बजेसम्म 9712006717 यो नम्बरमा ह्वाट्स एपमार्फत पठाउनुपर्नेछ ।
प्रतिष्ठानले देशभरीबाट परियोजना प्रस्ताव आह्वान गरेको थियो ।चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले ३ प्रतिशत ब्याजदरमा अधिकतम् २० लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउनेछन् । यसअघि सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिँदै आएको थियो ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम गरिएको छ । गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि सरकारले जम्मा ७३ करोड मात्रै छुट्याएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको थियो । यसवर्ष अब आवेदकहरुलाई आवश्यक प्रक्रिया पूरा गराएर कर्जा वितरण सुरु गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया