काठमाडौँकै सडकको यो बिजोग

२०८२ साउन २५ गते

काठमाडौँकै सडकको यो बिजोग

काठमाडौँ । “झरी परेपछि हिलाले बाटोमा हिँड्ने स्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्नुहुन्छ, “छि १ सडक ।”


यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । “घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ, हिँडेपछि सास्ती । अस्ति सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ”, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्छिन् । 

Advertisement:

Ad
Ad

कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठरअसार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापन समेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोशित छन् ।  वडाले खानेपानीको पाइप, बिजुलीको तार, ठुला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवतजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छन् । 

सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँडडुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए । सडक खन्ने पनि जनताले कसरी हिँडडुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उनले बताए।  

कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए। शङ्खमूल गणेश मार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ । 

किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए। यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गरे। 

काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकै पटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन्  ।