२०८३ वैशाख १७ गते
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको उक्त संस्थाले योग्य उम्मेद्वारबाट आवेदन मागेको हो।
कम्पनीले व्यवस्थापकीय श्रेणीको प्रमुख कार्यकारी अधिकृत पदमा एक जनाका लागि दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति (वैशाख १७ गते) ले १५ दिनभित्र आवेदन दिनु पर्नेछ।
आवेदकको नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाका सीईओका लागि तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ। साथै बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संस्थामा कम्तीमा १० वर्षको अनुभव र व्यवस्थापकीय तह वा सोभन्दा माथि कम्तीमा ३ वर्षको अनुभव आवश्यक रहनेछ। लघुवित्त क्षेत्रमा काम गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
उमेर हद ३५ वर्ष पूरा भई आवेदन दिने मितिसम्म ५८ वर्ष ननाघेको हुनु पर्नेछ भने पारिश्रमिक आपसी समझदारीमा तय गरिने उल्लेख गरिएको छ। नियुक्त व्यक्तिले काभ्रेपलाञ्चोकको बनेपास्थित कर्पोरेट कार्यालयमा रही काम गर्नु पर्नेछ।
आवेदन दिंदा हालसालैको फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभव प्रमाणपत्र, दुई जना सिफारिसकर्ताको विवरण, विस्तृत बायोडाटा तथा स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ। साथै ५ हजार रुपैयाँ दरखास्त दस्तुर एनआईसी एशिया बैंकको बनेपा शाखास्थित खातामा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ।
रितपूर्वक प्राप्त आवेदनमध्ये शर्ट लिस्टमा परेका उम्मेदवारलाई मात्र व्यवसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। आवेदन इमेलमार्फत वा बनेपास्थित कर्पोरेट कार्यालयमा खामबन्दी रूपमा पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया