२०८२ फागुन २७ गते
काठमाडौँ । एशियाली विकास बैंक(एडीबी) ले नेपाल सरकारलाई डिजिटल रूपान्तरण कार्यक्रमलाई ब्यापक बनाउन ४० मिलियन डलर करिब ५ अर्ब बढी सहुलियत ऋण स्वीकृत गरेको छ । नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यो सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो।
नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजना अन्तर्गत प्रदान गरिने यो सहयोग दक्षिण एशियामा पहिलो पटक एशियाली विकास बैंक र विश्व बैंकबीचको फुल म्युच्युअल रिलायन्स फ्रेमवर्क FMRF अन्तर्गत सह–वित्तपोषण गरिएको परियोजना हो।
यस परियोजनाले नेपालको डेटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधारलाई सुदृढ बनाउने, सरकारी तहमा डिजिटल सुरक्षा र प्रतिरोध क्षमता बढाउने, साथै आधुनिक तथा प्रयोगकर्ता-मैत्री सेवाका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।
परियोजना अन्तर्गत एकीकृत नागरिक सेवा पोर्टल विकास, राष्ट्रिय सामाजिक दर्ता प्रणाली (नेशनल सोशल रजिस्ट्री) सुधार, सुरक्षित सरकारी डेटा आदान–प्रदान प्लेटफर्म स्थापना, तथा करिब ११ वटा उच्च प्रभावका सरकारी सेवाको डिजिटल रूपान्तरण गरिनेछ।
नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर आर्नड कचले डिजिटल रूपान्तरण अब विकल्प नभई सार्वजनिक सेवा प्रवाह सुधार गर्न तथा नेपालको आर्थिक विकासलाई सहयोग गर्न अत्यावश्यक भइसकेको बताए। उनका अनुसार एडीबी र विश्व बैंकले सहयोग गर्ने सुधारहरूले प्रमुख सेवाहरूमा पहुँच सहज बनाउने, समयको बचत र प्रशासनिक अवरोध घटाउने तथा सरकारी प्रक्रियामा पारदर्शिता बढाउनेछ। यसले नागरिक र सार्वजनिक संस्थाबीचको विश्वास पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
यो परियोजना सूचना तथा प्रविधी मन्त्रालयद्वाराद्वारा कार्यान्वयन गरिनेछ। साथै यो कार्यक्रम सरकारको १६औं आवधिक योजनाको डिजिटल नेपाल फ्रेमवर्क अनुरूप रहेको बताइएको छ।
Full Mutual Reliance Framework (FMRF) एडीबी र विश्व बैंकबीचको एउटा नवीन सह-वित्तपोषण व्यवस्था हो, जसले परियोजना तयारी प्रक्रियालाई सरल बनाउने, दोहोरो कार्य घटाउने तथा विकास सहयोगलाई छिटो र प्रभावकारी बनाउने उद्देश्य राख्छ।
यस परियोजनामा विश्व बैंक मूख्य ऋणदाताको रूपमा रहेको छ, जसले यस वर्ष फेब्रुअरीमा ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरिसकेको छ।
सन् १९६६ मा स्थापना भएको एशियन डेभलपमेन्ट बैंक एशिया–प्रशान्त क्षेत्रमा समावेशी, दिगो तथा लचिलो आर्थिक विकासलाई सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। हाल एडीबीका ६९ सदस्य राष्ट्र छन्, जसमा ५० वटा राष्ट्र एशिया तथा प्रशान्त क्षेत्रका रहेका छन्।
प्रतिक्रिया