२०८३ साउन ११ गते
काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी र अन्तर्राष्ट्रिय व्यवसायिक सहकार्यलाई केन्द्रमा राखेर आयोजित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन–२०२६ अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा सम्पन्न सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए। सम्मेलनले विश्वभर रहेका नेपाली उद्यमीबीच व्यवसायिक सञ्जाल विस्तार, लगानी साझेदारी, ज्ञान तथा प्रविधि आदान–प्रदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा तथा महासंघ अष्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले उद्यमशीलता, नवप्रवर्तन र विश्वव्यापी बजारका अवसरबारे आफ्ना अनुभव तथा धारणा प्रस्तुत गरेका थिए।
सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। नेपालमा लगानीका लागि वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानीमैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।
उनले विदेशमा आर्जन भएको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको बताए।
दुईदिने सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै विभिन्न प्यानल छलफलसमेत आयोजना गरिएको थियो।
छलफलका क्रममा एआईले सिर्जना गरिरहेका नयाँ अवसर, नेपाली स्टार्टअपहरूको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको आयोजकले जनाएको छ।
फिनेका अध्यक्ष गोकर्ण ढकालले सम्मेलनले विश्वभर रहेका नेपाली युवा उद्यमीबीच दिगो व्यवसायिक सम्बन्ध निर्माण गर्नुका साथै नेपालकेन्द्रित लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
त्यस्तै फिनेका उपाध्यक्ष प्रकाश थापाले सम्मेलनले नेपाली उद्यमलाई विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने, अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको बताए ।साथै, एकताबद्ध भएर अघि बढे नेपाली उद्यमीले विश्वस्तरमै नयाँ सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै यात्रा सुरु भएको उनको भनाइ छ।
दुई दिने सम्मेलनको समापनसँगै यसको अर्को संस्करण सन् २०२८ मा चीनको ग्वाङ्झाउ मा आयोजना गर्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया